काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज  एक विशेष समारोहमा ‘हेमबहादुर मल्ल सम्मान–२०७५’ डा. गौरी शंकरलाल दासलाई प्रदान गरेकी छन्। यो सम्मान २ लाख रुपैयाँ राशिको हो। 

नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउनेलाई सम्मान गर्न ख्यातिप्राप्त प्र्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा यो पुरस्कारको स्थापना गरिएको हो। साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा यो सम्मान राष्ट्रपति भवनमा प्रदान गरिएको हो। 

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले हेमबहादुर मल्ल सम्मान पाउने डा. दास १६ औँ व्यक्ति भएको कुरा बताए। सम्मान छनोट समितिका संयोजक माधव पौडेलले यस सम्मानका लागि निष्पक्ष रुपमा डा दासलाई समितिले छनोट गरेका बताए।

समारोहमा डा दासले सम्मानका लागि आभार प्रकट गरे भने साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले धन्यवाद ज्ञापन गरेका थिए। 
राष्ट्रपति भवनको कार्यक्रमपछि याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा दासलाई संघको लोगो प्रदान गर्दै सम्मान प्रकट गरेका थिए। समारोहमा डा दासले आफूले समाजसेवामा भोगेका अनुभवसहितको विशेषकार्यपत्र प्रस्तुत गरेका थिए।