– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा भएको वृद्धिसँगै वित्तीय प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै जाँदा वित्तीय पहुँच बढ्दै गएको हो। वित्तीय पहुँचको आँकलनमा मुलुकको कुल जनसंख्या र बैंक शाखा अनुपात हेर्ने प्रचलन रहेको छ। यो अनुपात घट्दै जादा वित्तीय पहुँच बढ्दै गएको अनुमान गरिन्छ। 

यसबाहेक वित्तीय उपकरणहरु खासगरी निक्षेप र कर्जा खाता संख्या तथा डेबिट कार्ड र क्रेडिट कार्डलगायतको उपयोगको तथ्यांकबाट पनि वित्तीय पहुँचको मापन गर्ने चलन छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको छ। वित्तीय प्रविधिको प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइन्छ।

बैंक तथा वित्तीय संस्थाको संख्या र शाखा विस्तार

गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालिएयताको बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा भारी गिरावट आएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको संख्या १३२ रहेकोमा चालुु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा घटेर १२५ मा झरेको छ। यो अवधिमा वाणिज्य बैंकको संख्या २६, विकास बैंक र फाइनान्स कम्पनीको संख्या १७ र लघुवित्त संस्थाको संख्या ६४ मा झरेको छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंक २७, विकास बैंक १८, फाइनान्स कम्पनी १७ र लघुवित्त संस्थाको संख्या ६९ थियो। 

त्यसैगरी पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार तीव्रगतिमा भइरहेका छन्। पछिल्लो १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा ५०७ वटा शाखा खोल्न सफल भएका छन्। गत असोजमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या ११ हजार ३९ रहेकोमा यो असोजमा बढेर ११ हजार ६०९ पुुगेको छ। जसमा वाणिज्य बैंकका ५ हजार ७५, विकास बैंकका १ हजार १२१, फाइनान्स कम्पनीका २७४ र लघुवित्त वित्तीय संस्थाका ५ हजार १४० शाखा विस्तार भएका छन्।

बैंक शाखा र जनसंख्या अनुपात

पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको देखिन्छ। २०७८ असोज मसान्तमा कुल जनसंख्या र बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात २ हजार ७५२ रहेकोमा २०७९ असोज मसान्तसम्म घटेर २ हजार ५१५ मा झरेको छ।

स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति

सबै स्थानीय तहमा वाणिज्य वैंकहरुको कम्तीमा एउटा शाखा पुर्याउने नीतिअनुरुप हालसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ। २०७९ असार मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका हुन्। 

अब सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको साइपाल गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ। 

वित्तीय प्रविधि र वित्तीय सेवा विस्तार

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुका एटीएम संख्या उल्लेख्य वृद्धि हुँदै २०७९ असोज मसान्तमा ४ हजार ६६४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ४ हजार ३४७ थियो। 

राष्ट्र बैंकका अनुुसार गत असोजमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या ९३ लाख ६९ हजार ६७८ रहेकोमा यो असोजमा वृद्धि भएर १ करोड १५ लाख ५७ हजार १७४ पुुगेको छ। 

त्यसैगरी क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता आएको केन्द्रीय बैंकले जनाएको छ। २०७८ असोज मसान्तमा २ लाख ४ हजार ९५६ क्रेडिट कार्डका प्रयोगकर्ता रहेकोमा १ वर्षमा बढोत्तरी भएर २ लाख ६२ हजार ९४५ पुुगेको छ। 

यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०७८ असोजमा १ करोड ५१ लाख ५३ हजार ४६३ रहेकोमा २०७९ असोजसम्म बढेर १ करोड ९१ लाख २ हजार ६५२ पुुगेको छ। यस अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यासमेत बढेर १७ लाख १९ हजार ७३३ पुगेको छ। त्यसैगरी शाखारहित बैंकिङ केन्द्रको संख्या पनि बढ्दै गएको छ।

निक्षेप र कर्जा खाता संख्या

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थाहरुमा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ। २०७९ असोज मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी कुल १८ लाख २१ हजार ७८७ कर्जा खाता रहेको देखिन्छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या १७ लाख ६४ हजार ४५८ रहेको थियो।

त्यसैगरी २०७९ असोज मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या ४ करोड ६८ लाख ५५ हजार ६४३ पुगेको छ। २०७८ असोज मसान्तमा यस्तो संख्या ३ करोड ९४ लाख १३ हजार ५५५ रहेको थियो।