काठमाण्डौ । हकप्रद सेयरका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० प्रतिशत हकप्रद सेयरका लागि एचआईडीसीएलको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३४३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

हकप्रद प्रयोजनार्थ कम्पनीले आज जेठ २८ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो जेठ २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्। 

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो। 

बोर्डको अनुमतिसँगै कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। 

कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।