​– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सेयर बजारमा बढोत्तरीसँगै अहिले धेरैको चासो पनि बढेर गएको छ। प्राथमिक सेयरमा धेरैभन्दा धेरै लगानीकर्ताको प्रवेशले बजार निकै उत्साहप्रद देखिएको छ भने दूरदराजमा पनि सेयरको चार्म देखिएको छ। 

सेयर बजारको विकास र विस्तार हुँदै गएको देखिन्छ। यसै क्रममा बजारमा रियल सेक्टर पनि आउन थालेका छन्। 

अहिले सेयर बजारका बारेमा गाउँगाउँ तथा बस्तीबस्तीमा चर्चा र परिचर्चा सुनिन्छ। विद्यार्थीदेखि गृहिणीसम्म अनि युवादेखि बूढापाकासम्म सेयर खरिदबिक्रीमा लागेका देखिन्छन्। 

यसैबीच प्राथमिक बजारमा पनि लगानी गर्नेको ठूलै जमात छ। केही समयपहिले लगानीकर्तालाई सानाठूला गरेर छुट्टाइन्थ्यो। ५० हजार रुपैयाँसम्म लगानी गर्नेलाई साना लगानीकर्ता र सोभन्दा बढी लगानी गर्नेलाई ठूला लगानीकर्ता भनेर छट्टाउने व्यवस्था थियो। 

समयक्रमअनुसार विकास र विस्तार हुँदै जाँदा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले सबैलाई १० कित्ता आइपीओ पर्ने नीति ल्याए। हाल यो नीतिका बारेमा व्यापक बहस तथा विमर्श हुन थालेका छन्। कसैले यो नीति परिमार्जन गर्नुपर्छ भन्छन् भने कसैले यो कुनै पनि अवस्थामा परिमार्जन गर्न नहुने तर्क गर्छन्। 

यसै  सिलसिलामा आज हामीले विभिन्न क्षेत्रका बजार जानकार  तथा लगानीकर्ताका नेताहरुको विचार लिने प्रयत्न गरेका छौँ।

हरि ढकाल–अध्यक्ष, सेयर लगानीकर्ता दबाब समूह
प्राथमिक बजारमा आम लगानीकर्ताको पहुँच पुर्याउन यसले ठूलै मद्दत गरेको छ। गाउँगाउँबाट लगानीकर्तालाई जागरुक पार्न सफल भएको छ। यो नीति हटाउनु भनेको ठूला तथा टाठाबाठाका लागि हो। दुरुपयोग भएको छ भने नियमन निकायले सिस्टमको विकास गरेर नियन्त्रण गर्नुपर्छ । यसमा अहिले आमसर्वसाधरण पनि सचेत हुनुपर्छ। कसैले आफ्नो बैंक खाता तथा नागरिकता दुरुपयोग गरेको छ भने सर्वसाधरण पनि सचेत हुनुपर्छ। स्वयम् आफैँ भर्नुस्, अरुलाई आफ्नो नागरिकता र बैंक विवरण नदिनुस्। बजारमा १ हजारको सेयर ३० हजारसम्म हुन्छ। अहिले केही कम्पनीले वास्तविक ब्यालेन्स सिट लुकाएर बिडरसँग सेटिङ गरेर बुकबिल्डिङ ल्याएका छन्। 

राधा पोखरेल – अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ
यो नियम सर्वसाधारणको पक्षमा छ। सबैलाई पुँजीबजारमा समेट्न काम गरेको छ। यसैका कारण १८ लाख लगानीकर्ता बढेर आज ३६ लाख पुगेका छन्। यो हटाइए नराम्रो सन्देश जान्छ। यसमा विकृति छन् भने नियमन निकायले नियन्त्रण गर्न सक्नुपर्छ। यो व्यवस्था कुनै पनि अवस्थामा हटाइनु हुँदैन। 

नयन बास्तोला – महासचिव, सेयर लगानीकर्ता दबाब समूह
यो नियम हटाउनु भनेको सेयर बजारलाई संकुचनतिर लग्नु हो। यो हटाउनु भनेको माफियाको पक्षमा निर्णय गरिएको सन्देश जान्छ। समस्या छन् भने मेकानिजम बनाई नियन्त्रण गरिनुपर्छ। यो अहिलेको सरकारको नीति तथा नियमविपरीत पनि हुन जान्छ।  नेपालको पानी जनताको लगानी भन्ने सरकारको नारा छ। यो भनेको धेरैभन्दा धेरै लगानीकर्तालाई समेट्ने नीति हो। त्यसैले यो नीति किमार्थ हटाउन हुन्न।

केशव कोइराला – युवा लगानीकर्ता
यो १० कित्ताको नीति उपयुक्त छ। गरिबगुरुवाको पक्षमा छ। कुनै पनि अवस्थामा परिवर्तन गरिनु हुन्न। गरिबले १०–२० हजार कमाए भनेर यो हटाउन खोजिएको छ। यदि बोर्डले हटाएमा हामी आन्दोलनमा उत्रिनेछौँ।  बोर्ड घेर्न जानेछौँ। उनीहरुले ठूलो पैसाले ठूलाबडाका लागि ठूलो हिस्सा चाहन्छन्। साना लगानीकर्तालाई लगानीकर्ता मान्दैनन्। अहिलेको बुक बिल्डिङको व्यवस्थामा पनि सर्वसाधारणको हिस्सा थोरै बनाई संस्थागतलाई नै पक्षपोषण गरिएको छ। 

भीष्मराज ढुंगाना–अध्यक्ष, नेपाल धितोपत्र बोर्ड
यो इस्यू ठूलो होइन। बोर्डले गर्नुपर्ने धेरै काम छ। बजारको विस्तार र विकास गर्नुपर्नेछ। ब्रोकरको संख्या थप्ने तथा बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने अवस्था छ। कमोडिटी बजार तथा प्राइभेट इक्विटी भेन्चरको सुरुआतको तयारी भइरहेको छ ।