काठमाण्डौ । कुनै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य अब पैसामा पनि हाल्न पाइने व्यवस्था हुने भएको छ । 

दोश्रो बजारमा अहिले सेयर खरीद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरक मात्र राख्न पाइने व्यवस्था छ । तर, अब यो १ रुपैयाँको फरकलाई बाई-सेल अर्डर गर्दा घटाएर १० पैसामा झार्ने व्यवस्था हुन लागेको हो । 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निकट भविष्यमै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए । 'यो व्यवस्था कार्यान्वयनमा आएपछि १० पैसा तलमाथि गरेर पनि खरीद तथा बिक्री अर्डर राख्न मिल्नेछ ।' ढुंगानाले भने-'उदाहरणका लागि अहिले कुनै कम्पनीको सेयर किन्दा १०१ राख्नुपथ्र्यो भने अब भने १०० रुपैयाँ १० पैसा, १०० रुपैयाँ २० पैसा वा १० पैसाले बढ्दै जाँदा आउने मूल्यमा समेत अर्डर पोष्ट गर्न पाइनेछ ।' 

पिक प्राइसलाई १० पैसा तलमाथि गरेर कायम गर्न सकिने व्यवस्था निकट भविष्यबाटै कार्यान्व्यनमा ल्याइने उनले जानकारी दिए । 

उनले यो व्यवस्थाले लगानीकर्ताको ट्याक्स समेत बचत हुने दाबी गरे । 'पहिला कुनै पनि लगानीकर्ताले कुनै कम्पनीको मूल्य रुपैयाँमा मात्र राख्न पाउथ्यो । उदाहरणका लागि कुनै कम्पनीको मूल्य ११० रुपैयाँमा १ रुपैयाँ थप्नुपर्दा १११ रुपैयाँ राख्नैपथ्र्यो । तर अब भने त्यो सेयरको मूल्य ११० रुपैयाँबाट बढ्नैपर्दा ११० रुपैयाँ १० पैसा राख्दा पनि पाइने भयो ।' ढुंगानाले भने-'यसो हुँदा ९० पैसाको ट्याक्स जोगिन्छ । यस्ता धेरैवटा कारोबार हुँदा जोगिने ट्याक्सको आकार ठूलो हुनसक्छ ।' 

उनकाअनुसार पैसामा समेत सेयरको मूल्य लगाउन पाइने व्यवस्थाले भोल्युममा ठूलो सपोर्ट गर्ने र कारोबार म्याचिङको प्रेसर पनि कम हुनेछ ।