काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुले उठाएका अधिकांश माग सम्बोधन गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । 

यो समूहका १० नेता मन्त्री बन्ने गरी सरकारमा सहभागी हुने अन्तिम तयारी भइरहेको छ । 

जसपास्थित उच्च स्रोतका अनुसार ओली सरकारमा १० नेताको सहभागिता रहनेछ । त्यसमध्ये ८ जना मन्त्री बन्नेछन् भने २ जना राज्यमन्त्री हुनेछन् । 

जसपाको महन्थ ठाकुरबाट १० जनालाई सरकारमा सहभागी गराउन ओली समेत तयार भइसकेका छन् । जसपाले सो दलका संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा नेताहरुलाई सरकारमा सहभागी गराउन लागेको हो । 

महतोले गृहमन्त्रालयसहित उपप्रधानमन्त्री बनाइनुपर्ने अडान लिएका छन् । ओलीले भने उपप्रधानमन्त्रीसहित अर्को कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । ओली र जसपाबीचको गृहमन्त्रालयको आ आफ्नो अडानले आजभोलि नै हुने सरकार विस्तार केही दिन पछि धकेलिनसक्ने स्रोतहरु बताउँछन् । 

ओलीले गृहमन्त्रालय जसपालाई दिन चाहेका छैनन् । गृहमा उनका विश्वासपात्र तथा युवा नेता महेश बस्नेतलाई ल्याउन चाहेका छन् । त्यसो त उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि गृहमन्त्रालयमा आउने चाहना देखएका छन् । 

जसपाको महन्थ ठाकुर समूह ओली सरकारले संविधान संशोधनका लागि कार्यदल गठन, कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, आइतबार मात्रै अध्यादेशमार्फत नागरिकता ऐन संशोधन लगायतका माग पूरा गरेपछि सरकारमा सहभागी हुने निश्कर्षमा पुगिएको दाबी गर्दै आएको छ ।  

जसपाबाट महतो नेतृत्वमा नेताहरु सरकारमा सहभागी हुनेछन् । यो दलबाट शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल, चन्दा चौधरी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, लक्ष्मण लाल कर्ण र प्रमोद साह मन्त्री बन्ने चर्चामा छन् ।  अरगरिया र श्रीवास्तव उपेन्द्र यादव समूह छाडेर आएका नेता हुन् । 

उपेन्द्र समूह छाडेका महिला नेतृ(निवर्तमान सांसद) कलुदेवी विश्वकर्मा, रुही नाज र  रेणुका गुरुङमध्ये एक महिलाले पनि सरकारमा सहभागी हुने अवसर पाउनेछन् । उनीहरुमध्ये एकले राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।