– रेखा चन्द

काठमाण्डौ । हाल म्युुचुुअल फन्डहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्। चाडपर्व नजिकिएसँगै आफ्ना इकाइधनीहरुलाई प्रतिफल खुुवाउने उद्देश्यसहित म्युुचुुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका हुन्। 

अहिलेसम्म १० वटा म्युुचुुअल फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रतिफल घोषणा गरिसकेका छन्। जसमा सानिमा इक्विटी फन्ड, सनराइज फस्ट म्युुचुुअल फन्ड, एनआईबीएल सहभागिता फन्ड, एनआईबीएल प्रगति फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इक्विटी फन्ड छन्। 

यस्तै एनएमबी फिफ्टी, एनएमबी हाइब्रिड फन्ड एल–१, लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी उन्नित कोषले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। गत वर्षका लागि अघिल्लो वर्षको तुलनामा आकर्षक लाभांश भने दिन भने म्युचुअल फन्डहरुले सकेका छैनन्। 

पछिल्लो समय निरन्तर सेयर बजारमा गिरावट आउँदा म्युुचुुअल फन्डहरुको नाफामा कमी आएको जानकारहरु बताउँछन्। ‘म्युुचुुअल फन्डहरुले सेयरमा बजार लगानी गर्ने व्यवस्था छ। त्यसैले सेयर बजार घट्दा फन्डले दिने नाफामा अटोमेटिक संकुचन आउँछ’, एक क्यापिटलका सीईओले भने, ‘अर्को कुरा अहिले बैंकहरुले दिने संस्थागत मुुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ। त्यसको प्रभाव पनि फन्डमा देखिएको छ।’

कम जोखिम रहेको क्षेत्रअन्तर्गत म्युुचुुअल फन्ड पर्छ। तर, पछिल्लो समय यसमा लगानीकर्ताको आकर्षण घट्दै गएको देखिन्छ। तुुुलनात्मक रुपमा विगतका वर्षहरुमा दिने लाभांशदरभन्दा भारी अंकले घटाएर प्रतिफल घोषणा गर्न फन्डहरु बाध्य छन्। 

सार्वजनिक तथ्यांकअनुसार घोषित अधिकांश म्युचुअल फन्डहरुको प्रतिफल अहिले बैंकहरुले निक्षेपमा दिने ब्याजदरभन्दा पनि कम छन्। वाणिज्य बैंकहरुले अहिले व्यक्तिगत मुुद्दति निक्षेपमा ११.०३ प्रतिशत, संस्थागत मुुद्दति निक्षेपमा ९.०३ प्रतिशत र रेमिट्यान्स बचतमा १२.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन्। वाणिज्य बैंकको भन्दा विकास बैंकमा १ प्रतिशत बढी र विकास बैंकको भन्दा फाइनान्स कम्पनीमा १ प्रतिशत बढी ब्याजदर रहेको छ। 

हालसम्म १० फन्डहरुले न्यूनतम ४.२ प्रतिशतदेखि अधिकतम २२ प्रतिशतसम्म प्रतिफल घोषणा गरेका छन्। सबैभन्दा कम एनआईबिएल प्रगति फन्डले ४.०२ प्रतिशतमात्रै लाभांश दिने भएको छ। त्यसैगरी गत आर्थिक वर्षका लागि लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले आफ्ना इकाइधनीलाई ५ प्रतिशत प्रतिफल घोषणा गरेका छन्। 

एनआईबीएल सहभागिता फन्डले ७ प्रतिशत, सिद्धार्थ इक्विटी फन्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत, सनराइज फस्ट म्युुचुुअल फन्डले १२ प्रतिशत, एनएमबि हाइब्रिड फन्ड र एनएमबि फिप्टीले २१.०५२६ प्रतिफल दिने जनाएका छन्। इकाइधनीहरुलाई सबैभन्दा धेरै सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिनेछ।

अघिल्लो वर्ष भने केही म्युचुअल फन्डहरुले आफ्ना इकाइधनीलाई सतप्रतिशतसम्म लाभांश दिएका थिए। 

ती म्युचुअल फन्डहरुले केहीले दसैँअघि नै घोषित प्रतिफलको रकम इकाइधनीका खातामा पठाइसकेका छन्। केही म्युचुअल फन्डहरु प्रतिफलबापतको रकम पठाउने तरखरमा छन्।