काठमाण्डौ । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको निरन्तरता, बैंकिङ सिस्टममा बढ्दै गएको तरलता अभावको समस्या, बिग र फोर्स मर्जरमा राष्ट्रबैंकले साँधेको रहस्यमय मौनता लगायतका कारणले लगानीकर्ताको मनोबल कमजोर बन्न थालेपछि नेप्से परिसूचकमा फेरि पहिरो जान थालेको छ । 

आम लगानीकर्ताको अपेक्षाविपरीतको घटनाक्रम विकसित भएपछि यसको सोझो असर सेयर बजारमा पर्न थालेको देखिएको हो । जसको फलस्वरुप साताको ओपिनङ डे(सुरुवाती दिन)मै बजार मापक परिसूचक(नेप्से) १०.५४ अंकले घटी १११०.०८ को विन्दूमा सीमित हुन पुगेको छ ।  आइतबारको परिसूचकको गिरावटको ट्रेण्ड र कारोबार रकमको आकार हेर्दा लामो समयसम्म ११०० अंक माथि घुमिरहेको बजार ११०० मुनि आउनसक्ने संभावना बलियो बन्दै गएको देखिएको छ । बजार १००० को लाइनमा झर्ने हो कि भन्ने त्रास आइतबारको गिरावटले सिर्जना गरिदिएको छ । 

यो दिन राम्रा र बलिया कम्पनीमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.०३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.७९ अंकको गिरावट आएको छ । 

यो दिन बजारमा सबै समूहका उपसूचकमा रातो पोतिएको छ । राताम्मे बजारमा बैंकिङ समूह १०.४७ अंकले घट्यो भने विकास बैंक समूहमा १०.३९ अंक, बित्त समूहमा ५.४१ अंक, माइक्रोफाइनान्स समूहमा ६.३४ अंक, जीवन बिमा समूहमा ४८.०८ अंक र निर्जीवन बिमा समूहमा ५७.१५ अंकको गिरावट आयो । 

यो दिन व्यापार समूह ३९.८६ अंकले घट्यो भने होटल समूह १०.८३ अंक, जलविद्युत समूह ७.६ अंक, उत्पादन तथा प्रशोधन समूह २०.५१ अंक, म्युचुअल फण्ड  समूह ०.०९ अंक र अन्य समूह ४.६६ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६२ कम्पनीका ९ लाख २९ हजार ७४४ कित्ता सेयर २८ करोड ५ लाख ३४ हजार ४१५ रुपैयाँमा खरीदबिक्री भयो । 

सबैभन्दा बढी एनएमबी बैंकले २ करोड १५ लाख बढीको कारोबार गर्यो । 

नेपाल बैंकले १ करोड ३७ लाख बढीको कारोबार गरेको यो दिन सानाकिसान विकास बैंकले १ करोड २० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड, प्रभू बैंकले ९४ लाख, नवील बैंकले ९१ लाख, एनआइसी एशिया बैंकले ८६ लाख, नेको इन्स्योरेन्सले ८० लाख, साल्ट ट्रेडिङ कर्पोरेसनले ६९ लाख र स्वरोजगार लघुवित्तले पनि ६९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नेपाल हाइड्रोपावर कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतले बढ्यो । 

अपी पावर कम्पनीको सेयरमूल्य पनि ४ प्रतिशतकै हाराहारीमा बढ्यो ।

धेरै दिनअघिदेखि दैनिकजसो पोजिटिभ सर्किट लागिरहेको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लाग्यो। अघिल्लो साता सबै कारोबार दिन पोजिटिभ सर्किट लाग्नु र यो साताको सुरुवात दिनमै नेगेटिभ सर्किट लाग्नुले साल्ट ट्रेडिङको सीमित संख्याको सेयरमा चलखेल भएको बुझ्न सकिन्छ । सीमित संख्याका लगानीकर्ताहरुले जानाजान सेयरको अधिक डिमाण्ड सिर्जना गरी मूल्य बढाएर त्यसलाई आजबाट सल्टाउन खोज्दा यस्तो भएको जानकारहरु बताउँछन् ।