काठमाण्डौ । देशका ११ उपमहानगरपालिकामध्ये धेरैजसोमा मतगणना सुरु भएको छ । 

केही उपमहानगरपालिकाको मतगणनाका प्रारम्भिक मतपरिणाम पनि सार्वजनिक भइसकेका छन् । 

बुटवल, जनकपुर, धनगढी, हेटौडा, जितपुर सिमरा, धरान, इटहरी उपमहानगरपालिकामा मतगणना सुरु भइसकेको छ । 

बुटवल उपमहानगरपालिकामा अघिल्लो पटक चुनाव जितेको एमालेले सुरुवातमै खराब नतिजा हात पारेको छ । बुटवलमा प्रारम्भिक मतपरिणामअनुसार सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो अग्रता लिएका छन्। 

बुटवल वडा नम्बर १ मा ९ सय मत गणना हुँदा गठबन्धनका मेयर उम्मेदवार पाण्डेले ४२२ मत प्राप्त गरेका छन्। पाण्डेलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मतले पछ्याइरहेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन्। 

उता, जीतपुर सिमरा उपमहानगरपालिकाको प्रारम्भिक मतपरिणामअनुसार गठबन्धनका उम्मेद्वार अगाडि देखिएका छन् । हाल सो उपमहानगरको वडानम्बर २४ को मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सो वडाको हालसम्म खसेको १ हजार ८१६ मतमध्ये १ हजार २१० मतको गणना भइसकेको छ । 

मत परिणामअनुसार गठबन्धनका प्रमुखका उम्मेदवार माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखका उम्मेदवार काँग्रेसकी मेघा शाहीले क्रमशः ५४३ र ५४३ मत ल्याएका छन् ।  दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख र उपप्रमुखका उम्मेदवार सञ्जयकुमार साह र विपि मोक्तानले ४–४ सय मत ल्याएका छन् ।

यो उपमहानगरमा पनि नेकपा एमालेका उम्मेद्वार तेश्रो स्थानमै छन् । एमालेकी प्रमुख पदका उम्मेदवार सरस्वती चौधरी र उपप्रमुखका उम्मेदवार भोला अधिकारी  समान २६७–२६७ मत ल्याएका छन्  । 

यसैगरी, दाङको घोराही उपमहानगरपालिकामा समेत मतगणना सुरु भएको छ । अहिले घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको त्यहाँस्थित हाम्रा प्रतिनिधिले जनाएका छन् । 

घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। 

उता, जनकपुरधाम उपमहानगरपालिकामा भने रोचक परिणाम आउने सम्भावना देखिएको छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेद्वारले प्रमुख पदमा अग्रता लिइरहेका छन् । 

जनकपुरमा हालसम्म ४०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन्। उनले १३५ मत पाएका छन्।  दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साहले ४५ मत ल्याएका छन्।

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत पाएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साहले २८ मत पाएका छन्। उनी यसअघि निर्वाचित मेयर हुन् । 

स्वतन्त्र उम्मेद्वारी दिएका साह नेपाली कांग्रेसका नगर सभापति थिए । गठबन्धनको भागबण्डाप्रति असहमति जनाउँदै उनले पार्टीबाट विद्रोह गरी मेयर पदमा उम्मेद्वारी दिएका थिए । 

सुनसरीका पत्रकार सन्तोष काफ्लेका अनुसार त्यहाँका इटहरी र धरान उपमहानगरपालिकाको मतगणना समेत भर्खरै सुरु भएको छ । 

इटहरी र धरान एमालेले आफ्नो पकड क्षेत्र दाबी गर्दै आएको छ । तर, यसपटक यी दुवै क्षेत्रमा आफ्नो साख जोगाउन एमालेलाई धौ धौ पर्ने अवस्था रहेको विश्लेषकहरु दाबी गर्छन् । 

यसैबीच, मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् । 

यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका दिपक सिंहले २५ मत  पाएका छन् । 

उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ७ मत पाएकी छिन् । वडा अध्यक्ष पदमा भने नेकपा एमालेका उम्मेदवारले ६८ मत नेपाली काँग्रेसका उम्मेदवारले ६० मत पाएका छन् ।
धनगढी उपमहानगरपालिकामा पनि मतगणना सुरु भएको छ । 

तुल्सीपुर उपमहानगरपालिकाको मतगणना चाहिँ जेठ ३ गतेबाट मात्र हुने भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको मतगणना पनि आजै सुरु हुने बुझिएको छ ।