काठमाण्डौ । प्रविधिको दुनियाँको दिग्गज कम्पनी एप्पललाई पछिल्लो १३ वर्षको अवधिमा पहिलोपटक झट्का लागेको छ । 

मंगलबार सार्वजनिक एक तथ्याङ्कका अनुसार जारी अंग्रेजी वर्षको पहिलो तीन महिनाको अवधिमा कम्पनीको आम्दानीमा १३ प्रतिशतले गिरावट आएको छ । 

कम्पनीले पछिल्लो समय चीनमा गरेको कमजोर प्रदर्शन र आफ्नो उत्पादनलाई लिएर घाटा हुनै नसक्ने भनी कम्पनीका जिम्मेवार अधिकारीहरुले देखाएको अति आत्मविश्वासलाई घाटाको कारण मानिएको छ । कम्पनीले आइफोनको व्यापार जबरजस्त हुने दाबी गरिरहेको समय वास्तविक व्यापार चाहि घटिरहेको थियो । 

तथ्यांकका अनुसार एप्पलले अघिल्लो वर्षको पहिलो त्रैमासमा ५८ अर्ब डलरको आइफोन बिक्री गरेको थियो, तर यो वर्षको सोही अवधिमा त्यो कारोबार घटेर ५० अर्ब डलरमा झरेको छ । एप्पलको  बिक्रीमा सन् २००३ पछि पहिलोपटक गिरावट आएको हो । 

यो त्रैमासमा एप्पलले ५ करोड १२ लाख वटा आइफोन बिक्री गर्यो । जब कि अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६ करोड १२ लाख आइफोन बिक्री गरेको थियो । 

यो क्रममा चीनमा आइफोनको बिक्रीमा २६ प्रतिशतको गिरावट देखियो । डलरको मजबुतीका कारण समेत एप्पलको व्यापारलाई केही असर गरेको विश्लेषकहरुको भनाई छ । 

घाटाको प्रभाव एप्पलको शेयरमा समेत देखिएको छ । एप्पलको शेयरमा पछिल्लो एकवर्षको अवधिमा २० प्रतिशतले गिरावट आएको छ । 

तर कम्पनीका सीइओ टिम कुकले ठूलो अर्थव्यवस्थामा आएको संकटका बाबजुद कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको दाबी गरे । 
(रोयटर्सबाट भावानुवाद)