काठमाण्डौ । प्रत्येक वर्ष विश्वका डलर अर्बपतिहरुको र्याकिङसहितको सूचि प्रकाशन गर्दै आएको अमेरिकी म्यागजिन फोब्र्स प्रकाशन गरेको सन् २०१६ का विश्वका अर्बपतिहरुको सूचिमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पुनः आफ्नो स्थान सुरक्षित गरेका छन् । तर सन् २०१५ को सूचि भन्दा यो पटक उनी १६२ स्थान पछाडि धकेलिएका छन् ।
 

विश्वका अर्बपतिको सूचिमा १ हजार ५ सय ७७ औं स्थानमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई समेत फोब्र्सले समावेश गरेको हो । सन् २०१५ को सूचिमा चाहि चौधरी १४१५ औं स्थानमा थिए ।
 

पत्रिकाले जनाएअनुसार चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब १० अर्ब रहेको छ । फोब्र्सले बुधबार सार्वजनिक गरेको सूचिमा चौधरीको भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी रहेको उल्लेख छ ।

 

नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गरेको फोब्र्सले उल्लेख गरेको छ ।
 

म्यागेजिनले विश्वकै सबैभन्दा धनीको रुपमा पुनः अमेरिकी खर्बपति बिल गेट्सलाई नै समावेश गरेको छ ।