काठमाण्डौ । दसैैँबिदा हुनुअघिको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक १६ सय विन्दु माथि उक्लेको छ।

आज नेप्से परिसूचक ८.५४ अंकको बढोत्तरीका साथ १६ सय विन्दु माथि उक्लेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९१ अंकको वृद्धिका साथ ३१८.५६ को उचाइमा पुगेको छ। आज कारोबार रकमसमेत २ अर्ब रुपैयाँ हाराहारीमा भएको छ। 

एनआईसी एसिया बैंक र कुमारी बैंकले कोरोना कहरबीच गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई सरप्राइज लाभांश घोषणा गरेपछि बैंकतर्फ लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको विश्लेषकहरु बताउँछन्। कोरोना कहरबीच नै बैंकहरुले आकर्षक लाभांश घोषणा गर्ने लहडबीच बैंकिङ समूहमा चलहपहल आउँदा कारोबार रकम र परिसूचकमा समेत निरन्तर वृद्धि भइरहेको उनीहरु  दाबी गर्छन्।

आज सम्पन्न सेयर कारोबारको राफसाफ तथा फछ्र्यौट दसैँबिदापछि मात्र हुने भएकोले समेत बिक्री वा आपूर्तिभन्दा माग पक्ष बलियो भएको ब्रोकरहरु बताउँछन्। यसको असर सूचक र कारोबारमा सकारात्मक प्रभाव परेको उनीहरुको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ३८.५२ अंकको उछाल आएको छ। उत्पादन तथा प्रशोधन समूह २९.४८ अंकले बढेको आज बैंकिङ समूह १२.१ अंक, व्यापार समूह ९.३३ अंक, विकास बैंक समूह १.७१ अंक, वित्त समूह ५.३८ अंक, अन्य समूह ५.२७ अंक र लघुवित्त समूह ०.८१ अंकले उकालो लागेका छन्। 

आज होटेल्स् समूहमा सर्वाधिक १४.०४ अंकको गिरावट आएको छ। यो दिन जलविद्युत् समूह ६.४३ अंक, बीमा समूह १०.१ अंक र म्युचुअल फन्ड समूह ०.०६ अंकले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत १८७ कम्पनीका ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन कुमारी बैंकको सर्वाधिक १४ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ९ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ८ करोड ८२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ७ करोड ९७ लाख रुपैयाँ, नेपाल बैंकको ७ करोड ८० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ७ करोड ५५ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड ९१ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सको ४ करोड ८० लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ७९ लाख रुपैयाँ र नागरिक लगानी कोषको ४ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। आज जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन माउन्टेन हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै ४ प्रतिशतको गिरावट आएको छ।