– अर्जुन तिमिल्सिना

काठमाण्डौ । करिब १९ औँ शताब्दीतिर राइट दाजुभाइले उड्ने यन्त्रको अविष्कार गरेपछि कुनै एउटा खोला तर्न नसकेर टोलाएको मान्छेलाई अब समुद्र काट्न कुनै समस्या छैन। जसरी आकाशमा उडेका जहाजमा एउटा गन्तव्य र गति हुन्छ। त्यसैगरी सेयर बजारमा पनि निश्चित गन्तव्य र गति आवश्यक हुन्छ। 

नाङ्गो आँखाले हेर्दा कुनै एउटा धावनमार्गबाट गतिसँगै धर्ती छोडेको जहाज आकाशमा आवश्य नै उडेको–उड्यै गर्दैन। त्यो कुनै न कुनै विमानस्थलमा गएर अवतरण गर्छ नै। 

यथार्थमा सेयर बजार पनि त्यही नै हो। यदि हामीले बजार सधँै बढेको–बढ्यै गर्छ भन्नु र जहाज उडेको–उड्यै गर्छ भनेर सोच्नु बालापनमात्रै हुन्छ। अझ प्रस्ट पार्नुपर्दा एउटा विमान जुन विज्ञान र गतिमा आधारित भएर चल्छ, सेयर बजार पनि त्यही नै हो। 

यसै प्रसंगमा आज हामीले हाम्रा पाठक तथा नयाँ लगानीकर्तालाई केही ज्ञान तथा अनुभव होस् भन्ने उद्देश्यका साथ विमान तथा बजार दुवैमा अनुभवी अनि विज्ञ पाइलट कृष्णविक्रम क्षेत्रीको अनुभवलाई समेट्ने प्रयास गरेका छौँ।

पाइलट क्षेत्री वि.सं. २०३० सालतिर नै काठमाण्डौ आएका थिए। २०३७ साल जेठ महिनामा नेपाल सरकारको छात्रवृत्ति कोटाबाट उनलाई १० महिने पाइलट तालिमका लागि क्यानाडाको भ्यानकुबरमा जाने अवसर प्राप्त भयो। त्यतिखेर दुई टोली भ्यानकुबरमा पठाइएको थियो। जसमा पहिलो टोलीमै क्षेत्री परेका थिए। 

त्यो बेला नेपालमा करिब ३६ वटा विमानस्थल थिए। ‘त्यसबेला मैले लुक्ला, जोमसोम, डोल्पा, फाप्लु, सिमीकोटलगायतका विकट क्षेत्रमा रहेका विमानस्थलहरुमा उडान गरेँ’, क्षेत्रीले भने। 

त्यतिबेला क्षेत्रीको मासिक तलब १ हजार १०० रुपैयाँमात्रै थियो। ‘त्यसमा थोरैमात्रै भत्ता हुन्थ्यो’, उनले भने। 

भौगोलिक अवस्थाले निकै कठिन र ८३ प्रतिशत पहाड भएको नेपालमा सहयोगी संयन्त्र पनि राम्रो नभएकोले त्यतिबेलाको उडान निकै कठिन हुने गरेको अनुभव क्षेत्रीले सुनाए। ‘विमानस्थलमा गाई–भैँसी धपाएर विमान अवतरण गर्नुपथ्र्यो’, उनले भने, ‘त्यसपछि मैले अलि सुगम पोखरा, धनगढी, विराटनगर र भैरहवा ५ वर्षजति एब्रो विमान उडान गरेँ।’

उडानका क्रममा राजा, प्रधानमन्त्रीदेखि आमसर्वसाधरण सबैलाई लैजाने अवसर प्राप्त भएको पनि क्षेत्रीले बताए। उडानकै क्रममा केही डरलाग्दा तीता अनुभव पनि क्षेत्रीसँग रहेछ। ‘एकपल्ट लुक्लामा इन्जिनियर लिएर जाँदै गर्दा दिउँसको १–२ बजेको थियो होला’, उनले भने, ‘हामी जाने बाटोमा दूधकोशी नदीमाथि बादल टन्नै रहेछ। विमानस्थल १३ हजार फिटमाथि थियो। बादल छल्न ७ हजार ३०० फिटसम्म तल झर्नुपर्यो। फेरि १० हजार फिट माथि चढेर विमान अबतरण गरियो। नेपालजस्तो भौगोलिक बनावट भएको ठाउँमा यति तल उडान गर्नु निकै जोखिम हो। मौसमकै कारण त्यहीँ २ दिनजति बस्नु पर्यो।’

आन्तरिक उडानसँगै क्षेत्रीसँग लामो समय अन्तर्राष्ट्रिय उडान भरेको अनुभव पनि छ। अन्तर्राष्ट्रियतर्फ क्षेत्रीले फ्रयाङ्फर्ट, लन्डन, पेरिस, दुबई, दोहा, दिल्ली, कोलकत्ता, मुम्बई, बैंकक, बैंगलोर, कोलम्बो, क्वालालाम्पुर, हङकङ, ओसका तथा संघाई गरेर १८ हजार घन्टा उडान  भरेका छन्। 

अन्तर्राष्ट्रिय उडानमा पनि एउटा त्यस्तै डरलाग्दो घटनाको अनुभव क्षेत्रीले सम्झिए। ‘एकपल्ट फ्रयाङफर्ट उडानका क्रममा अस्ट्रियाको आकाशमाथि जाँदा अर्को एउटा जहाज देखियो’, उनले भने, ‘धन्न हाम्रो जहाजमा भर्खरै टीसीएएस संयन्त्र जडान भएकोले  बेलैमा हामी अलर्ट हुँदा दुर्घटना टर्यो।’

जहाजलाई सुरक्षित यात्रा मानिन्छ। ‘तर कहिले काहीँ जोखिम पनि हुन्छ’, क्षेत्रीले भने।

करिब ३८ वर्ष आन्तरिक र बाह्य उडान गरेका क्षेत्री त्रिवि विश्वविद्यालयबाट एमपीए पढेकाले नेपाल वायुसेवा निगममै आफ्नो सम्बन्धित विभागमा निर्देशक भएर काम गरे। ‘मलाई यो बीचमा निजी तथा बाहिरी कम्पनीबाट उच्च तलबको प्रस्ताव पनि नआएको होइन’, उनले भने, ‘तर मैले देश सेवा तथा राष्ट्रिय भावको ओतपोतका कारण सरकारी सेवा छाड्न सकिनँ।’ 

करिब २ वर्षअघि ६१ वर्षको उमेरमा सरकारी सेवाबाटै सेवानिवृत्त भएका क्षेत्री अहिले नेपाल सरकारकै उडानसम्बन्धी विज्ञ टोलीमा बसेर काम गरिरहेका छन्। ‘धेरैपल्ट भारतमा नेपालको सरकारी टोलीबाट रुट पर्मिटका लागि वार्ता तथा सल्लहा दिएको छु’, क्षेत्रीले भने। 

क्षेत्रीसँग उडानसँगै सेयर बजारमा पनि लामै अनुभव रहेको छ। उनलाई २०४६/४७ तिर ग्रिन्डलेज बैंक (हालको स्टान्डर्ड चार्टर्ड) को सेयर ५० कित्ता भर्दा १५ कित्ताजति परेको थियो। ‘खासमा मलाई सेयरका विषयमा पहिला केही थाहा थिएन’, उनले भने, ‘आफन्तले आईपीओ भर्ने गरेका रहेछन् अनि मैले पनि आईपी भर्न थालेँ।’

त्यतिबेला छाता ओढेर, लाइन लागेर, बिस्कुट–पानी खाएर पनि प्राथमिक सेयर भरेको क्षेत्रीसँग अनुभव रहेछ। ‘मैले पछि चिनजानका सबैलाई आईपीओ भर्न सुझाव दिन थालेँ’, उनले भने। 

सेयर बजारबाट फाइदै हुने क्षेत्रीको अनुभव छ। उनले एभरेस्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एसिया बैंक, एलआईसीएन, एनएलआईसी तथा बोट्लर्स नेपालको प्रथामिक सेयर रहेछ। ‘रु. १०० को बोटलर्स नेपालको सेयर  रु. १० हजारसम्म पुगेको थियो’, उनले भने। 

दोस्रो बजारबाट स्टान्डर्ड चार्टर्ड बैंकको ५ हजार २०० मा, बैंक अफ काठमण्डूको १ हजार ५९० रुपैयाँ तथा एनआईसी एसिया बैंकको ५०० रुपैयाँ तिरेर किनेको क्षेत्रीले बताए। ‘बैंकमा पैसा राख्नुभन्दा सेयरमा लगानी गर्दा फाइदा हुन्छ’, उनको सुझाव छ। 

उडानकै क्रममा पनि जहाजमा कोही बैंकरहरु भेट भएमा सेयरका विषयमा सल्लाह लिने गरेको क्षेत्रीले बताए। ‘उनीहरुकै सल्लाहअनुसार सेयर पनि किन्ने गरेको थिएँ’, उनले भने। 

पहिले–पहिले फुर्सद हुँदा धेरैपल्ट विभिन्न एजीएममा सहभागी भएको पनि क्षेत्रीले सुनाए। ‘एजीएममा जाँदा रमाइलै हुन्थ्यो’, उनले भने।