काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले बजारले १९८७ को विन्दूलाई ब्रेक गरे मात्र नेप्से परिसूचक तत्काल माथि जाने सम्भावना रहेको दाबी गरेका छन् । 

प्राविधिक टूल्सहरु प्रयोग गर्दै उनले गरेको विश्लेषणमा १९८७ को विन्दू पार नगरेसम्म एक–डेढ महिना बजार माथि जाने सम्भावना निकै न्यून देखिन्छ । ‘१९८७ को रेसिटेन्सी पार गर्यो भने चाहिँ बजार स्वीङ हुँदै माथि जान्छ ।’ बस्यालले बिजशालासँग भने–‘१९८७ को विन्दू ब्रेक गर्न सकेन भने केही समयसम्म सामान्य घटबढमै रुमल्लिन सक्छ । १९४० को आसपासबाट बजारले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने कुरा पनि हेर्न बाँकी छ। यसपछि अझ प्रष्ट रुपमा भन्न सकिएला ।’ 

बजार अब धेरै समय घटबढको साइकलमा नरुमल्लिने दाबी गर्दै उनले प्राविधिकसँगै आधारभूत पक्षमा समेत सुधार देखिएकोले लगानीकर्ताको मनोबल बढ्दै गएको बताए । ‘बैंकहरुले निक्षेपमा दिंदै आएको ब्याजदर अब नबढ्ला भन्ने आशा छ । तर, एकपटक बेसरेट बढेका कारण ऋणको ब्याजदर भने बढ्ने सम्भावना देख्छु ।’ उनले थपे–‘निक्षेपको ब्याजदर थप नबढ्ने, बरु घट्नसक्ने सम्भावनाका कारण पनि बजारमा सकारात्मक माहौल सिर्जना हुनसक्छ ।’ 

पछिल्ला केही दिनहरुमा लगानीकर्ताको मनोबल बढ्न थालेको उल्लेख गर्दै उनले प्राविधिक रुपमा यो मनोबललाई जोगाइराख्नका लागि पनि १९८७ को यसअघिको हाई ब्रेक गर्नैपर्ने अनिवार्यता देख्छन बस्याल । ‘१९८७ ब्रेक भयो भने टेक्निकल्ली बजार थप बढ्नका लागि र लगानीकर्ताको मनोबल मजबुत हुनका लागि भ्यालिड हुन्छ ।’ उनले थपे–‘तर जस्तोसुकै अवस्था आए पनि अब एक–डेढ महिना मात्र बजार अन्यौलमा फस्ने हो, त्यसपछि माथि नगई धरै छैन ।’ 

कुन सेक्टरमा कमाई राम्रो ?
मंसिर ४ गतेको चुनावपछि नयाँ सरकार गठन हुने र त्यसले बैंकिङ प्रणालीको तरलता समस्या समाधान गर्ने, बजारका समस्या समाधान लगायतका विषयमा केही न केही कदम चाल्ने आशा गर्न सकिने उनी बताउँछन् । 

यसरी हेर्दा अहिलेको अवस्थामा हेभी डिस्काउण्ट रेटमा पाइराखिएको वाणिज्य बैंक र विकास बैंकको सेयरमा लगानी गर्दा नै ठीक हुने उनको सुझाव छ । 

‘कमाईको दृष्टिकोणबाट हेर्दा वाणिज्य बैंक र विकास बैंक नै अहिले उपयुक्त सेक्टर हुन् ।’ उनले थपे–‘त्यसपछि उत्पादन तथा प्रशोधन समूहमा पनि म सम्भावना देख्छु । केही हाइड्रोमा पनि रिटर्नको गज्जब सम्भावना देख्छु ।’ 

वाणिज्य र विकास बैंक लगानीका लागि आकर्षक सेक्टर हुँदाहुँदै राष्ट्रबैंकको कतिपय निर्देशन र नीतिले यो वर्ष सोचेजस्तो हुन नसक्ने सम्भावना रहेको समेत उनले सुनाए । ‘नियमविपरीत बैंकहरुले चार्ज गरेको प्रिमियम फिर्ता गर्न भनेर राष्ट्रबैंकले निर्देशन दिएको छ । यो निर्देशनको कार्यान्वयन गर्दा बैंकहरुले कति पैसा फिर्ता गर्नुपर्छ भन्ने यकिन डेटा आइसकेको छैन । तर, मेरो बिचारमा यो कदमपछि बैंकहरुको यो वर्षको आम्दानीमा ५० प्रतिशतसम्मको प्रभाव पर्न सक्छ ।’ उनले भने–‘यसो भयो भने बैंकहरुले राम्रो लाभांश नदिन सक्छन् । यसले बैंक र विकास बैंकप्रति लगानीकर्ताको धारणा धूमिल बनाइदिनसक्छ ।’ 

उनको भनाईमा प्रिमियम फिर्ता गर्नुपरे पनि यदि बैंकहरुले निस्क्रिय कर्जाको राम्रो व्यवस्थापन गर्न सके भने त्यसले अवस्था उति बिग्रिन दिनेछैन । 
‘तर तरलता अभावको समस्या समाधान भएपछि बैंकहरुको कमाई अझै बढ्छ र यसले लगानीकर्तालाई नै फाइदा हुने हो ।’–उनले थपे । 

सेयर बजारमा निकट भविष्यमै बुलिस यात्रा सुरु हुने दाबी गर्दै उनले अबको बुलमा सबै सेक्टर चल्ने प्रष्ट पारे । ‘हाइड्रोमा केही राम्रा कम्पनीहरुले पनि लगानीकर्तालाई उभो लगाउनेछन् । अहिले अवस्था नराम्रो भए पनि माइक्रोफाइनान्सहरुले पनि राम्रै गर्नेछन् ।’ प्रक्षेपण गर्दै उनले भने–‘बुलमा त नेगेटिभ इपीएस भएकाहरुको पनि दिन फिर्छ नि । अघिल्लो पटक देखिएकै हो । तर, राम्रो कमाईका लागि उत्पादन तथा प्रशोधन समूह, बैंकिङ, विकास बैंक, बीमा र हाइड्रो नै ठीक देखिन्छ ।’ 

अहिले किन्ने कि बेच्ने ?
बस्यालको भनाईमा लङटर्मका लागि हो भने अहिले सस्तोमा पाइरहेको राम्रो अवस्थाका कम्पनीहरु छानी–छानी किन्ने बेला हो । ‘तर यदि तपाई सर्टटर्मका लागि सोच्दै हुनुहुन्छ भने अहिलेको समय भनेको पर्ख र हेरको अवस्था बस्ने समय हो ।’–उनले थपे ।