काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिसँगै पुँजीबजार सुधारका काम सुरु गरिने आश्वासन दिएका छन्। 

पुँजीबजार सुदृढीकरण बृहत कार्यदलका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो आश्वासन दिएका हुन्। उनले यी दुवै निकायमा १५ देखि २० दिनभित्र प्रमुख नियुक्ति गरिसक्ने र पुँजी बजार सुधारका बाँकी कामहरु पनि द्रुतगतिमा अगाडि बढाउने आश्वासन दिए। 

कार्यदलले अर्थमन्त्री समक्ष पुँजीबजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्से प्रमुखको नियुक्ति, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएको थियो। 

छलफलमा अर्थमन्त्री शर्माले आफू पुँजीबजारको दिगो विकास र विस्तारका लागि लागिरहेको दाबी गरेका छन्। ‘म पुँजीबजारविरोधी होइन, मेरै पालोमा नेप्से अल टाइम हाईको रेकर्ड बनाएको कुरा तपाइँहरुले बिर्सिनुभएन’, उनले थपे।