नयाँदिल्ली । भारतीय २ सय ५१ रुपैयाँमा स्मार्टफोन बिक्रीको घोषणा गरेर एकाएक चर्चामा आएको रिगिंग बेल्स नामको विदेशी कम्पनीले आफ्नो घोषणाकै कारण दिनहुँ नयाँ नयाँ संकटको सामना गर्नुपरिरहेको छ । अपत्यारिलो मूल्यमा फोन उपलब्ध गराउने घोषणा गरेको कम्पनीको क्रियाकलाप शंकास्पद भएको भन्दै भारतको कर्पोरेट अफेयर्स मन्त्रालयले तीव्र छानबिन थालेको छ । कम्पनीले दिल्लीस्थित कम्पनी दर्ता कार्यालयमा गलत ठेगाना दिएको बिषयमा कर्पोरेट मन्त्रालयले छानबिन थालेको हो । यसअघि शंकास्पद घोषणाको बिषयमा भारतको टेलिकम मन्त्रालयले समेत छानबिन सुरु गरिसकेको छ । एकपछि अर्को छानबिनका कारण कम्पनी दिनहुँ नयाँ नयाँ संकटको दल दलमा फस्दै गएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 
 

गलत ठेगाना
दिल्लीस्थित कम्पनी रजिष्टारको कार्यालयमा रिंगिंग बेल्स प्रालिले १६ सेप्टेम्बर २०१५ मा दर्ताका लागि निवेदन दिएको थियो । सो क्रममा यो कम्पनीले आफ्नो कार्यालयको ठेगाना भनेर दिल्लीको गान्धीनगर मार्केटको मुखर्जी गल्ली भनेर उल्लेख गरिएको थियो । तर अहिले छानबिनको क्रममा सो ठेगानामा कम्पनीको कुनै पनि कार्यालय भेटिएन । गान्धीनगर मार्केट एशोसिएसनका महासचिव पवन जिन्दलले समेत संवाददाताहरुसँग त्यहाँ रिंगिंग बेल्स नामको कम्पनीको कुनै कार्यालय नरहेको स्पष्ट पारिदिएका छन् । 
 

नोयडाबाट संचालन


कम्पनी रजिष्टारको कार्यालयमा दिल्लीको गान्धीनगर ठेगाना लेखेर यो कम्पनीले नोयडाबाट आफ्नो गतिविधि संचालन गरिरहेको पाइएको छ । नोयडाको सेक्टर ६३ मा यो कम्पनीको कार्यालय रहेको छ । कम्पनीका एक अधिकारीले संवाददाताहरुलाई नोयडाको  सेक्टर ६३ मा रहेको कार्यालय कम्पनीको दोश्रो सम्पर्क कार्यालय रहेको दाबी गरेका छन् । तर गान्धीनगरमा कुनै पनि अफिस नरहेको कुरा संवाददाताले बताएपछि ती अधिकारीले सकेसम्म चाँडो कम्पनीको ठेगाना सच्याउने प्रतिबद्धता जनाए । 

 

कर्पोरेट मन्त्रालयले कारबाही गर्ने
कर्पोरेट अफेयर्स मन्त्रालयका एक अधिकारीले कुनै पनि कम्पनीले रजिष्टरको क्रममा उल्लेख गरेको कार्यालयमा कार्यालय नराख्नु भनेको कम्पनी ऐनको बर्खिलाप भएको भन्दै कम्पनीउपर कारबाही हुने बताए । तत्काल छानबिन थालिसकिएको र सत्यतथ्य पत्ता लागेर भएको अपराध अनुसार कानूनी कारबाही हुने ती अधिकारीको भनाई छ । संचारमाध्यमहरुले कम्पनी ऐन उल्लंघनको चार्जमा रिंगिंग बेल्समाथि कारबाही हुने पक्का भएको छ, तर यसका अन्य गैरकानूनी काम समेत हुनसक्ने भन्दै छानबिन थालिएकोले केही दिनपछि समग्रमा कस्तो कारबाही गर्ने भन्ने बिषय निश्कर्षमा पुग्ने बताइएको छ । 

 

कम्पनीमा प्रहरी र कर अधिकारीको छापा
शंकास्पद घोषणा गरेपछि एकाएक विवादमा तानिएको कम्पनीको कार्यालयमा गत शुक्रबार इनकम ट्याक्स अफिसका अधिकारी र प्रहरीले समेत छापामारी गरेको छ । दुवै विभागले २५१ भारुमा कम्पनीले स्मार्टफोन उपलब्ध गराउनै नसक्ने र यसमा केही खेल भएको दाबीका साथ छापामारी गरेको थियो । प्रहरी अधिकारीहरुले कम्पनीले सस्तो स्मार्टफोनको आवरणमा कुनै ठूलै घोटाला त गर्न खोजिरहेको छैन भनेर आशंका व्यक्त गरेका छन् । तर रिंगिंग बेल्सका अधिकारीहरुले भने यस्तो शंकाको ठाडै खण्डन गरेका छन् । 

 

जफत हुनसक्छ पासपोर्ट
स्रोतका अनुसार यदि छानबिनको क्रममा कम्पनीको घोषणा तथा उसका काम गैरकानूनी ठहरिए कम्पनीका भारतमा रहेका अधिकारीहरुको पासपोर्ट नै जफत हुनसक्छ । कम्पनीका वरिष्ठ अधिकारी र प्रमोटर्स देश छाडेर भाग्न नसकून भन्ने उद्देश्यले प्रहरीले उनीहरुको गतिविधिमा समेत गम्भीर चासो व्यक्त गरिरहेको छ । तर कम्पनीले चाहि अझै पनि यस्ता कुराहरुलाई निराधार भन्दै पूर्व घोषणा मुताबिक भारु २५१ रुपैयाँमै स्मार्टफोन उपलब्ध गराइछाड्ने दाबी गर्न छाडेको छैन । एक अधिकारीले बजारमा गलत हल्ला फैलिएका कारण आफूहरुले नै प्रहरी अधिकारीलाई बोलाएर आफ्ना कागजात दिएको दाबी गरे । उनले सर्वसाधारणबाट कम्पनीलाई सहयोग हुने आशा व्यक्त गर्दै आफूहरु पूर्व घोषणाबाट पछि नहटेको र घोषणा अनुसार २५१ भारुमा स्मार्टफोन उपलब्ध गराइछाड्ने प्रण समेत व्यक्त गरेका छन् । 
(भारतीय संचारमाध्यमको सहयोगमा)