काठमाण्डौ । एकीकृत कारोबारको तयारीमा लागेका नवील र नेपाल बंगलादेश बैंकको कारोबार केही दिन बन्द हुने भएको छ । 

नवील बैंकको कारोबार २ दिन र एनबी बैंकको कारोबार ३ दिन बन्द हुने भएको हो । 

दुवै बैंकले आज एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएका हुन् । सूचनाअनुसार दुवै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन(डेटा माइग्रेसन) गर्ने प्रयोजनका लागि असार २४ गते शुक्रबार कार्यालय समयपछि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडिसम्म नवील बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द हुनेछ । 

यसैगरी, असार २५ गते शनिवार सार्वजनिक विदाको दिन सञ्चालन हुने नवील बैंकका सम्पूर्ण काउण्टर तथा बैंकि सेवा समेत बन्द हुनेछन् । तर, सो समयमा नवील बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड सेवा भने सञ्चालनमै रहने सूचनामा उल्लेख गरिएको छ । 

उता, नेपाल बंगलादेश बैंक लिमीटेडमा भने असार २३ गते बिहीबार कार्यालय समयपछि असार २७ गते सोमबार कार्यालय समय अगाडिसम्म सबै बैंकिङ सेवा तथा कारोबार बन्द हुनेछ । यो समयमा बंगलादेश बैंकको क्रेडिट कार्ड भने चल्ने सूचनामा उल्लेख गरिएको छ । 

नवील बैंकले बंगलादेश बैंकलाई अक्वायर गरी असार २७ गते सोमबारदेखि एकीकृत कारोबार गर्दैछ । नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २७ देखि नै नवील बैंक लिमीटेडको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्ने समेत सूचनामा जनाइएको छ ।