काठमाण्डौ । ब्रिटेनको एक कम्पनीले निर्माण क्षेत्रका मजदूरहरुका लागि निकै उपयोगी हुने हालसम्मकै मजबुत स्मार्टफोन निर्माण गरेको छ । 

यो स्मार्टफोन यति धेरै बलियो छ कि २ मिटरको उचाईबाट इँटा, ढुंगा वा सिमेन्टेड भूईमा खसे पनि केही हुँदैन । यति मात्र कहाँ हो र ? यो फोनमा निकै विशेष गुणहरु समेत छन् । जस्तो माइनस २० डिग्रीको जमाइदिने जाडो वा ६० डिग्रीको औधी गर्मीमा समेत यो फोनले निकै राम्रो ढंगले काम गर्नसक्छ । 

डिवाल्ट नामको कम्पनीले यस्तो फोन पहिलोपटक बनाएको हो । यो स्मार्टफोनको मोडेल एमडी ५०१ हो । यो एक एन्ड्रोइड स्मार्टफोन हो, यसको मूल्य ५ सय ४४ डलर अर्थात नेपाली करिब ५८ हजार रुपैयाँ रहेको छ । विश्वकै सबैभन्दा दह्रो भनिएको यो फोनले ब्रिटेन र अन्य केही देशमा खूबै बजार जमाइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो स्मार्टफोनलाई पानी, धूलोबाट बचाउन सोही अनुसारको बचाउ विधि समेत प्रयोग गरिएको छ । दह्रो र मजबुत फोन भएकोले ब्याट्री समेत सोही किसिमको टिकाउ लगाउन सकिने यसका डिजाइनरहरु बताउँछन । 

डिवाल्टले यो फोनको ब्याट्री लगातार प्रयोग गर्दा समेत ८ घण्टासम्म टिक्ने दाबी गरेको छ । यो फोनको अर्को विशेषता भनेको वायरलेस चार्जर पनि हो । यसको टचस्क्रीन गोरिल्ला ग्लासबाट बनेको छ । यो निकै मजबुत प्रकारको सिसा हो । 
(एजेन्सीको सहयोगमा भावानुवाद)