काठमाण्डौ । हवाई उडानका क्रममा निदाएको आरोपमा एक पाइलटलाई जागिरबाट निकालिएको छ। 

इटलीको हवाई कम्पनी आईटीए एयरवेजका पाइलटलाई अप्रिल ३० मा न्युयोर्कबाट रोम जाँदै गरेको विमानमा निदाएको आरोपमा जागिरबाट निकालिएको हो। न्युयोर्कबाट इटलीको रोम जाँदै गरेको उक्त विमानबाट फ्रान्सको आकाशमा ३८ हजार फिटमाथि हुँदा १० मिनेटसम्म कुनै पनि प्रतिक्रिया आएको थिएन। 

विमानबाट कुनै पनि प्रतिक्रिया नआएपछि फ्रान्सेली अधिकारीहरु आत्तिएका थिए। उनीहरुले एयरबस ए३३० आतंककारी अपहरणकारीहरुको अपहरणमा पर्नसक्ने भन्दै इटलीका अधिकारीहरुलाई चेतावनी दिएका थिए। 

आईटीएले भने ककपिट नियन्त्रणमा हुँदा पाइलट र को–पाइलट केही समयका लागि निदाएको हुनसक्ने अनुमान गरेको थियो। 

को–पाइलटलाई नियन्त्रित आरामका लागि अधिकार दिइएको र यसलाई केही निश्चित प्रोटोकलअन्तर्गत अनुमति प्रदान गरिएको रिपोर्टमा उल्लेख छ। तर, यस अवधिमा विमानका क्याप्टेन भने जाग्नुपर्थ्यो। 

पाइलटहरुले आफूहरुबाट कुनै पनि गल्ती नभएको र सञ्चार प्रणालीमा विफल हुँदा फ्रान्सेली अधिकारीहरुलाई प्रतिक्रिया दिन नसकेको बताएका छन्।

विमानबाट कुनै प्रतिक्रिया नआएपछि फ्रान्सका अधिकारीहरुले ककपिटमा के भइरहेको भन्ने जान्नका लागि दुईवटा फाइटर जेट विमानलाई उडानका लागि सर्तक अवस्थामा राखेका थिए। फ्रान्सेली अधिकारीहरुले इटलीका अधिकारीहरुलाई विमान सम्भावित आतंककारी हमला भएको हुन सक्ने जानकारी गराएपछि उनीहरुले विमान कम्पनी आईटीएलाई सम्पर्क गरेका थिए। त्यसपछि आईटीएले सेटेलाइट फोनमार्फत पाइलटसमक्ष पुग्ने प्रयास गरेका थिए। 

दुवै पाइलटले १० मिनेटपछि प्रतिक्रिया जनाएका थिए र फ्रान्सेली अधिकारीहरुले ‘टेरर अलर्ट’लाई स्थगित गरेका थिए। विमान रोममा निर्धारित समयभन्दा २० मिनेटअघि अवतरण गरेको थियो। 

घटनाको अनुसन्धान गर्दा उडानका क्रममा र अवतरणपछि पाइलटको व्यवहार प्रक्रियाअनुरुप नभएको भन्दै उनलाई जागिरबाट निकालिएको आईटीएले जनाएको छ। कम्पनीले घटनाको दौरान यात्रुको सुरक्षामा कुनै सम्झौता नगरिएको जनाएको छ। –एजेन्सी