काठमाण्डौ । केरलाको पालघाटमा किसान परिवारमा जन्मिएका यी व्यक्ति पिताको निधनपछि जब घरबाट निस्किए, तब उनको साथमा मात्र ५० रुपैयाँ थियो । आर्थिक समस्याका कारण उनले बीचमा पढाई समेत छाड्नु परेको थियो । आज लगभग चार दशकपछि तिनै व्यक्ति १६ हजार करोड रुपैयाँ अर्थात १५० करोड डलरको धनी बन्न सफल भएका छन् । यस्ता संघर्षशील व्यक्ति हुन् भारतमा ‘शोभा डेभलपर्स’ नामक कम्पनीका अध्यक्ष पिएनसी मेनन् । यी व्यक्ति हालै फोब्र्स पत्रिकाले जारी गरेको अबरमा बस्ने धनी भारतीय मूलका व्यापारीको सूचिमा छैठौं नम्बरमा पर्न सफल भएका छन् । ५० रुपैयाँ लिएर निस्किएका मेनन कसरी अर्बपति भए होलान् ? आउनुहोस् जानौं उनको सफलतापछिको राज । 

मेनन जब १० वर्षका थिए, तब उनका पिताको निधन भयो । यसपछि उनको परिवारमा बिजिनेश सम्हाल्ने कोही भएन, कारण मेननका हजूरबुबा अनपढ थिए । उनकी आमा पनि अधिकांश समय बिरामी पर्ने गर्थिन । यसै कारण मुश्किलले मेननले स्कूलको शिक्षा पूरा गर्न पाएका थिए । प्रारम्भिक शिक्षापछि उनले अगाडि थप पढ्ने इच्छा राखे र कोशिश गरे, तर सफल भएनन् । फोब्र्स म्यागजिनलाई दिएको अन्तर्वार्ताको क्रममा उनले आफूले दुईपटकसम्म बीकम पढ्ने कोशिश गरेको, तर असफल भएको खुलाएका छन् । 

ब्रुनाईका सुल्तानको घरमा पहिलो डिजाइन


मेननले सबैभन्दा पहिला प्रोजेक्टको रुपमा ब्रुनाईका सुल्तानको घरको डिजाइन गरेका थिए । यस अलावा यूएईमा मेननले कयौं ठूला महल तथा बंगलाहरुको डिजाइन गरेका छन् । तर रमाइलो कुरा यो हो कि उनीसँग इन्टेरियर डिजाइनको कुनै पनि कोर्स गरेको सर्टिफिकेट छैन । अर्थात, त्यस्तो कोर्सको उनले औपचारिक शिक्षा हालसम्म लिएका छैनन् । 

सुरुवातमा धेरै दुःख भोगे पनि बिस्तारै–बिस्तारै उनले ओमन लगायतका प्राय सबै अरब देशहरुमा आफ्नो बिजिनेशलाई बिस्तार गरे । ओमनको अलावा उनले भारतमा समेत आफ्नो व्यवसाय बिस्तार गरेका थिए । उनले भारतमा शोभा डेभलपर्स नामको कम्पनी स्थापना गरे । भारतको समेत १२ वटा राज्यमा यो कम्पनी  बिस्तार भइसकेको छ र अहिलेको अवस्थामा कम्पनीको कुल नेटवर्थ १५० डलर रहेको छ । 

आधा सम्पत्ति दान


सन् २०१३ मा पिएनसी मेननले त्यस समयको उनको कुल सम्पत्ति ४७.५ करोड डलरमध्ये आधा च्यारिटेबल ट्रस्टलाई दान गर्ने घोषणा गरेका थिए । साथै उनले आफ्नो ट्रस्ट अन्तरगत केरलाको चार गाउँलाई झिलीमिली बनाउने घोषणा गरेका थिए । 

कारोबारको सुरुवात यस्तो थियो


मेननको प्रारम्भिक शिक्षा त्रिसूरमा भएको थियो । सन् १९७६ मा उनको भेट ओमनबाट आएका ब्रिगेडियर सुलेमान अल अदावीसँग भएको थियो । ब्रिगेडियर त्यस समय माछा पक्रनेवाला डुंगा खरीद गर्नका लागि भारत आएका थिए । सुलेमानले मेननलाई साथ–साथ व्यवसाय गर्ने आश्वासनसँगै ओमनका लागि निम्ता दिए, जब कि मेननले पहिलोपटक ओमनको नाम सुनेका थिए । घर गएर उनले ओमनलाई आफ्नो ग्लोबमा खोजे । त्यसपछि उनले सुलेमानको आमन्त्रण स्वीकार गरे । 

त्यसको दुई महिनापछि उनले पासपोर्ट बनाए र ओमन जाने पूर्ण तयारी गरे । ओमन जाने क्रममा उनीसँग मात्र ५० रुपैयाँ थियो, कारण त्यसबेला ओमन जाने भारतीयहरुलाई साथमा ५० रुपैयाँ भन्दा बढी बोक्न बन्देज थियो । 

ओमन जाने क्रममा मेनन निकै उत्साहित थिए । उनलाई आफूप्रति पूर्ण भरोसा थियो र त्यहाँ गएर केही न केही गर्छु भन्ने आत्मविश्वास पनि । 

ऋण लिएर अरबमा कारोबार


सो समयमा मानिसहरु अरब निकै धनी भएको सोच्दथे । यस्ता खालका कुराहरु मेननले पनि सुनेका थिए । तर जब उनी ओमन पुगे, त्यसबेला उनले सुनिएका कुराहरु सबै उल्टो पाए । जुन सुलेमानले मेननलाई व्यवसाय संयुक्त रुपमा सुरु गर्ने सपना देखाएका थिए, वास्तवमा ती व्यक्ति पनि मध्यम वर्गीय परिवारका सदस्य मात्र थिए । सुलेमानसँग पनि व्यवसाय सुरु गर्ने अधिक पैसा थिएन । त्यसपछि दुवैले मिलेर सुरुमा एक स्थानीय बैंकबाट ३ हजार रियाल ऋण लिए । मेननले सुलेमानसँग मिलेर इन्टेरियर डेकोरेशनको काम सुरु गरे । सुरुवातमा उनले निकै धेरै अप्ठ्यारा र उल्झनहरुको सामना गर्नुपर्यो । 

पाँच वर्षमै अरबका टप व्यापारी


पाँच वर्षको कडा मेहेनतपछि मेनन सन् १९८४ मा ओमनका टप चार व्यवसायीको सूचिमा पर्न सफल भए । सन् १९८६/८७ मा उनको द सर्भिस एण्ड ट्रेड ग्रुप अफ कम्पनिज ओमनको टप परफर्मिङ कम्पनीमा सामेल हुने सफलता प्राप्त गर्यो । यो कम्पनी आज पनि ओमनको बजारमा टप स्थानमै छ । साथै, मेनन २००७/०८ मा फोब्र्सले जारी गरेको संसारका अर्बपतिहरुको सूचिमा समेत अट्न सफल भएका छन् । मेननको कुल सम्पत्ति १.२५ अरब डलर रहेको अनुमान गरिएको छ । 

पत्नीको नामबाट ‘शोभा डभलपर्स’
भारतमा उनले आफ्नी पत्नीको नामबाट ‘शोभा डेभलपर्स’ नामक कम्पनी सुरुवात गरेका थिए । उनले आफ्नी पत्नीको नामबाट कम्पनी खोल्नु पछाडिको कारण स्पष्ट पार्दै भनेका छन् कि उनकी पत्नी निकै भाग्यमानी छिन्, मेननको पत्नी शोभासँग विवाह भएपछि नै चमात्कारिक सफलता प्राप्त भएको थियो । भारतमा शोभा डेभलपर्स कम्पनी १२ वटा राज्यमा काम गरिरहेको छ । शोभा डेभलपर्स सन् २००६ मा मुम्बईको  शेयरबजारमा सूचिकृत भएको थियो । भारत र खाडी देशमा समेत गरी कम्पनीले २ हजार ८ सय कर्मचारीलाई रोजगारी दिएको छ । कम्पनीले भारत र खाडी मुलुकमा आफूलाई अझ बिस्तार गर्ने योजना बनाइरहेको छ । 

समाजसेवामा समर्पित


मेनन समाजसेवामा समर्पित छन् । जनकल्याणका कयौं कामहरुमा उनको कनेक्सन छ । केरलाको किजाकेचरीमा उनले अन्तर्राष्ट्रिय स्कूल, सुपर स्पेशियलिटी हस्पिटल र फाइभ स्टार वृद्धाआश्रमको निर्माण गरिदिएका छन् । उनको हस्पिटलले विगत ७ वर्षको अवधिमा गरीबीको रेखामुनिका लगभग ३ हजार परिवारको स्वास्थ्य चेकजाँच, तिनका बच्चाको पढाईको व्यवस्थापन र ती परिवारमा रहेका वृद्धाहरुलाई साहार दिने काम गरेका छन् । उनको कम्पनीले सीएसआर कार्यक्रम अन्तरगत करिब २ हजार ५ सय परिवारलाई सम्हालेको छ ।  ती परिवारलाई उनले सित्तैमा खाना, आवास, शिक्षा, छोरीहरुको विवाह खर्च र जेष्ठ सदस्यका लागि आवासको सुविधा उपलब्ध गराएका छन् । 

मेनन ओमन र भारतमा थुप्रै शिक्षण संस्था खोल्ने योजनामा छन् । मेननका अनुसार यदि तपाई पनि धेरै पैसा कमाउनु हुन्छ भने सबै पैसा परिवारका लागि मात्र खर्च नगर्नुस्, कमाईंको केही हिस्सा समाजसेवामा समेत खर्च गर्ने बानी बसाल्नुस् । उनले यो कामलाई हरेक नागरिकले आफ्नो जिम्मेवारी सम्झनुपर्ने तर्क गर्छन । 
एजेन्सीको सहयोगमा