काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रसद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

कम्पनीले प्रस्तावित हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगमा स्वीकृत माग्नेछ। त्यहाँबाट अनुमति पाएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी नेपाल धितोपत्र बोर्डमा निष्कासन अनुमति माग्दै निवेदन दिइने कम्पनीले जनाएको छ। 

यो हकप्रद बिक्रीबाट आउने रकम रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।