-राजु श्री
कोरिया । डेढ वर्षदेखि बुलिश ट्रेण्डमा रहेको नेपाली शेयर बजार पछिल्लो तीन हप्तादेखि दैनिक रुपमा डरलाग्दो गरी घटिरहेको छ । नेप्सेमा आएको यो भारि गिरावटसँगै देशबिदेशमा रहेर लगानी गर्ने साना तथा मझौला लगानीकर्ताहरुले अर्बौ रुपैयाँ गुमाइसकेका छन् भने समग्र बजारको पुँजीकरणमा पनि निकै ठूलो संकुचन आइसकेको छ । 

बिश्वको कुनै पनि देशको पुँजी बजारलाइ उक्त देशको अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने गरिन्छ । मुलुकको अर्थतन्त्रको बिकास कुन गतिमा अघि बढेको छ भन्ने कुरा उक्त देशको शेयर बजारको सूचकाङ्कले जनाउने गर्दछ । बजारबाट पुँजी परिचालन गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक पहुँचलाई बलियो बनाउनसक्ने माध्यम भएकोले यसलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा समेत हेरिन्छ । 

झन्डै २७ वर्ष अगाडिबाट सुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ । पछिल्लो समयमा प्राबिधिक रुपमा केही सहजता भए पनि बजारले आफ्नो गति र आकार भने अझै लिन सकेको छैन । धितोपत्र बजार शुरु भएको समयदेखि नै देखिएको राजनीतिक अस्थिरता र हरेक पटक विभिन्न बाहानामा हुने प्रहारले यसको भबिष्य नै अन्योलमा रहेको देखिन्छ । छिमेकी मुलुक भारतको नेशनल स्टक एक्सचेञ्ज नेपाल स्टक एक्सचेञ्ज भन्दा झन्डै एक दशक कान्छो हो । तर, आज भारतको बजार इण्डेक्स धेरै माथि पुगिसकेको छ, त्यसको तुलनामा नेपालको बजार इण्डेक्स अझै पनि कमजोर अवस्थामा छ । 

बजार किन यसरी घट्दैछ ?
नेप्से २०६८ साल असारमा सर्बाधिक न्यून बिन्दु २९२ पुगेको थियो भने २०७३ साल श्रावण १२ गते १८८१  बिन्दु चुमेर बियरिस ट्रेन्डमा फर्केको थियो । पछिल्लो समय कोरोना भाइरसको त्रास र लकडाउन सँगै उकालो लाग्न थालेको नेप्से गत महिना मात्र ३२ सयभन्दा माथि पुगेर अलटाइम हाईको रेकर्ड बनाएको थियो । त्यसपछि भने करेक्सन सुरु भएकोमा यो क्रम अझै पनि जारी नै देखिन्छ । 

अर्थतन्त्रको सामान्य सिद्धान्त अनुसार कुनै पनि बस्तुको माग बढ्दा मूल्य बढ्छ र आपूर्ति बढ्दा बस्तुको मूल्य घट्छ । तर, नेपालको सेयर बजारले यो सिद्धान्तले मात्र चलेको देखिन्न । 

संसारका धेरै विकसित देशले सेयर बजारलाई अत्यन्त संवेदनशील क्षेत्र मान्छन् र यसलाई त्यति चलाउन चाहदैनन् । तर नेपालमा भने यो वा त्यो बाहानामा सबैभन्दा बढी मार खाने क्षेत्र नै यही रहेको छ ।  यसलाई जति धेरै गिजोल्न सक्यो त्यति नै माथिल्लो निकायलाई फाइदा हुने हुनाले यसको टाउकोमा सधै प्रहार भइरहन्छ, भइरहेको छ । अझ नेपालमा त पूँजी र मुद्रा बजारका नियामक निकायहरु नै बजारलाई धराशायी बनाउन कम्मर कसेर लागिपरेका देखिन्छन् । 

पछिल्लो समय नियामक निकायका प्रतिनिधि, संगठित ठूला लगानीकर्ता, समाजिक सञ्जालका फोरमहरु, स्वघोषित बजार विश्लेषक, पेड गरिएका अनलाइनपत्रिका जस्ता पक्षहरुको मिलेमतोमा बजार घटाउन मद्धत भएको देखिन्छ । प्रत्यक्ष रुपमा यसको चपेटामा साना र नयाँ लगानीकर्ता परेका छन् । 

अब के हुनसक्छ ?
शेयर बजार अत्यन्तै जोखिमयुक्त क्षेत्र हो । बिश्वको कुनै पनि बजार जोखिममुक्त हुनै सक्दैन । अझ नेपाली शेयर बजार त झनै जोखिमयुक्त छ । यहाँ कहिलेकाहीँ हल्लाकै भरमा पनि बजारले बुलिश र बियरिश ट्रेन्ड समातिरहेको हुन्छ । यस्तो अबस्थामा सचेत हुने भनेको आफू नै हो । तर लगानीकर्ताको पुँजीलाई संरक्षण गर्ने जिम्मेवारी चाहिँ राज्यको पनि हो । 

तर, बिडम्बना राज्यलाइ खर्बौ कर तिरेर योगदान गर्ने यो क्षेत्रलाई उपहास गरिएको पाइन्छ । बजार सधै बढ्नै पर्छ भन्ने कहिल्यै हुँदैन । प्राकृतिक रुपमा हुने घटबढलाई बजारको सौन्दर्यको रूपमा हेरिने गरिन्छ । 

पछिल्लो समयमा नियोजित रुपमा घटाइएको बजारबाट गरिब जनताको खर्बौ रुपैया गुमिसक्दा पनि सम्बन्धित निकायले कुनै कदम चाल्न नसक्नु भनेको अत्यन्तै दुःखद पक्ष हो । मिलेमतोमा बजार क्र्यास बनाएर साना तथा मझौला लगानीकर्तालाई सडकमा पर्याउने योजना बन्दै गरेको भनेर अर्थमन्त्रीप्रति पनि आक्रोश पोखिने गरेको छ । अन्य समकक्षी नेताको तुलनामा केही आशा गरिएका अर्थमन्त्री चूप बस्नु भनेको 'भाडमा जाओस् ' भने जस्तै हो, लगानीकर्ताले यही रुपमा बुझेका छन् । 

के भन्छन् कोरियाका लगानीकर्ता ?
आज मात्र यो पंक्तिकारसँग एक लगानीकर्ताले ५ बर्ष कोरियामा काम गरेर कमाएको सबै गुमेको पीडा सुनाए । समाजिक सञ्जालका फोरम र ग्रुपहरुमा यस्ता गुनासा सुनिनसक्नु छ । कारोबारका निमित्त मध्यस्थकर्ताको रुपमा रहने ब्रोकरहरुका अनुसार पछिल्लो समय जापान र कोरियाबाट अत्यधिक मात्रामा बजारमा लगानी भित्रिएको छ। 

प्रविधिले गराएको सहजतासँगै कोरियाबाट दैनिक रुपमा दोश्रो बजारमा लगानी गर्ने नेपालीहरुको संख्या समेत ठूलो रहेको छ । 

कोरियाको राजधानी सौलबाट निकै टाढा रहेको एउटा च्याउ कम्पनीमा काम गर्ने सिन्धुपाल्चोककी एक युवती पनि कोरियाको एक बर्षको कमाइ गुमेको भन्दै अत्यन्तै चिन्तित थिइन् । सम्पत्ति गुमेको पीडा त छँदैछ रेमिट्यान्सको कर र मार्केटको कर गरेर राज्यलार्इ दोहोरो कर बुझाउँदा समेत सम्बन्धित निकाय मौनता साधेर बस्न मिल्छ ? उनी आक्रोश पोख्छिन । 

के सधै यस्तै हुन्छ ? 
विश्व शेयर बजारको सुन्दर पक्ष भनेकै बजार घटेर एउटा बिन्दुमा पुगेपछि बढ्छ । बढेर एउटा बिन्दुमा पुगेपछि पुनः घट्छ । यो विश्व बजारको बिशेषता नै हो । अझ यसलाइ यसरी बुझौ, न्यूटनको चालसम्बन्धी तेश्रो सिद्धान्तअनुसार बललाई जमिनमा जति पछार्यो त्यति नै माथि उफ्रिन्छ । बजार पनि जति घट्यो त्यति नै बढ्छ । घट्दो बजारमा आफूसँग भएका कित्ताहरु सुरक्षित राख्नु नै बुद्धिमानी हुनेछ।