काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले अपेक्षा गरेभन्दा कम मत खसेको बताएका छन् । 

आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको विषयमा केहीबेरअघि आयोग परिसरमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ६१ प्रतिशत मत खसेको र यो आयोगले गरेको अपेक्षाभन्दा कम रहेको बताएका हुन् । उनले कतिपय क्षेत्रबाट आएका डेटाहरु सिस्टममा प्रविष्ट गर्ने काम भइरहेको उल्लेख गर्दै मतदान भएको प्रतिशत केही बढ्नसक्नेछ । 

थपलियाले छिटपुट घटनाबाहेक आजको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै यसमा सहयोग गर्ने सबैलाई आभार समेत प्रकट गरे । 

सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगन भएको उल्लेख गर्दै ती ठाउँमा २ दिनभित्र सबै विवादको समाधान गरी पुनः मतदानको व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए । 

यस्तै, निर्वाचन प्रतिनिधि तथा कर्मचारीहरुको असावधानीहरुका कारण कतिपय ठाउँमा एउटा मतपेटिकामा खसाल्नुपर्ने मत अर्को मतपेटिकामा खसेको सूचना आएको उल्लेख गर्दै त्यस्ता मतपत्रहरु जुन उम्मेद्वार वा पार्टीका लागि जुन क्षेत्रका लागि खसालिएको हो, त्यसमै गणना गरिने जानकारी समेत दिए । तर, त्यस्ता क्षेत्रहरुमा जेका लागि खसेको हो, त्यसमै गणना गर्ने व्यवस्थाका लागि स्थानीइ राजनीतिक दल, उम्मेद्वार र निर्वाचन प्रतिनिधिबीच सहमति हुनुपर्नेमा उनले जोड दिए । 

यसैबीच, निर्वाचन केन्द्रहरुबाट मतपेटिका ढुवानीको काम जारी रहेको उल्लेख गर्दै काठमाण्डौ लगायतका केही जिल्लामा आजै रातिदेखि मतगणना सुरु हुने उनले जानकारी दिए । बाँकी क्षेत्रहरुमा भने भोलिबाट मतगणना थालिनेछ । 

यस्तै, ७ वटा हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदान केन्द्रहरुबाट मतपेटिका नेपाली सेनाको सहयोगमा हेलिकोप्टरबाट सदरमुकामस्थित गणनास्थलमा ल्याउने व्यवस्था समेत गरिएको थपलियाले जानकारी दिए ।