काठमाण्डौ । कृषि प्राविधिक बिषय पढेर पनि बेरोजगार हुनेहरुका लागि जागिरको सुवर्ण अवसर ! नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग हरिहर भवन, ललितपुरले करार सेवामा रही काम गर्ने गरी कृषि प्राविधिक पदमा ५ सय जनशक्ति माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२/०७३ को ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक’ स्वीकृत नीति तथा कार्यक्रम अनुसार जिल्ला कृषि विकास कार्यालयहरुको मातहतमा रही गाउँविकास समितिमा कार्य गर्ने गरी ७३ जिल्लाका लागि ५ सय जनशक्ति माग गरिएको हो । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण गरी न्यूनतम एक वर्षे जे.टि.ए.(कृषि विज्ञान)को तालिम प्राप्त वा कृषि बिषय लिई टिएसएलसी उत्तीर्ण गरेकाहरुले राजपत्र अनकिंत द्वितीय श्रेणीको नायव प्राविधिक सहायक(ना.प्र.स.) पदमा आवेदन दिन सक्नेछन् । खुल्लातर्फ २८०, महिलातर्फ ७९, आदिवासी जनजातितर्फ ६८, मधेशीतर्फ ४६ तथा दलिततर्फ २७ जनाको कोटा विनियोजन गरिएको छ । ७३ जिल्लामध्ये सबैभन्दा बढी धनुषाका लागि १३ जना र सबैभन्दा कम मनाङका लागि १ जना जनशक्ति माग गरिएको छ । 

सम्बन्धित जिल्लास्थित जिल्ला कृषि विकास कार्यालयबाट दरखास्त फारम भर्न सकिने व्यवस्था मिलाइएको छ । दरखास्त दिन चाहनेहरुले परीक्षा दस्तुरको रुपमा ३ सय रुपैयाँ र प्रत्येक थप समावेशी समूहका लागि १ सय ५० रुपैयाँ लाग्ने बताइएको छ । इच्छुकले  बैशाख २० गतेदेखि जेठ ३ गतेसम्म दरखास्त दिनसक्ने  विभागले जनाएको छ ।