काठमाण्डौ । नेपाल टेलिकमले स्वेच्छिक अवकास योजना(भिआरएस)का लागि इच्छुक भएर निवेदन दिएका २६ जनालाई अयोग्य मानी बाँकी ७ सय ९६ लाई फागुनको पहिलो साता गोल्डेन ह्याण्डसेक नीति अन्तरगत आकर्षक रकम दिएर विदा गर्ने भएको छ ।    

टेलिकमले केही समयअघि अयोग्य र अदक्ष अधिक कर्मचारीलाई कटौति गर्ने उद्देश्यले गोल्डेन ह्याण्डसेकसहितको भीआरएस कार्यक्रम लागू गर्ने निर्णय गरेको थियो । सो कार्यक्रमका लागि टेलिकममा २५ बर्ष सेवा अवधि पुगेका कर्मचारीहरुबाट आवेदन माग गरिएको थियो । पहिलो चरणमा ८ सय २२ जनाले आवेदन दिएका थिए । टेलिकम बोर्ड बैठकले भीआरएसका लागि परेका निवेदनमाथि छानबिन गर्दा विविध कारणले २५ बर्ष सेवा अवधि नपुगेका २६ जनाले समेत निवेदन दिएका पाइएपछि उनीहरु बाहेक बाँकी ७ सय ९६ जनालाई चाहि भीआरएस कार्यक्रमका लागि योग्य भएका निर्णय गरेको हो ।    

यो योजना अन्तरगत टेलिकमका ५२ सय ३६ कर्मचारीमध्ये करिब १५ सय जतिलाई विदा गर्ने व्यवस्थापनको तयारी छ । विभिन्न चरणमा गरी आवेदन माग गर्ने योजना अनुसार पहिलो चरणमा मागिएको आवेदनका क्रममा छनौट भएकाहरुलाई आकर्षक रकमसहित विदाई गर्न लागिएको हो ।    

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यका अनुसार भीआरएस कार्यक्रमका लागि छनौट भएकाहरुले न्यूनतम ४० लाख रुपियाँदेखि अधिकतम १ करोड रुपियाँसम्म लिएर घर जानेछन् ।    

यो कार्यक्रमका लागि छनौट भएकाहरुले माघ मसान्तसम्मको तलब पाउनेछन् र त्यसपछि भीआरएसको प्रक्रिया सुरु हुनेछ । फागुन पहिलो साताबाट प्रक्रिया सुरु गरी छनौट भएका ७ सय ९६ कर्मचारीलाई धमाधम विदाई गरिनेछ ।    भीआरएस कार्यक्रममा एकदेखि ११ औं तहका कर्मचारीले निवेदन दिएका र तीमध्ये ५, ६ र ७ औ तहका बढी छन् ।  नेपाल टेलिकमको व्यवस्थापनले युनियनहरुको आन्दोलनको क्रममा ०७१ आश्विन १० गते उनीहरुसँग भीआरएस योजना लागू गर्ने सहमति समेत गरेको थियो । युनियनका नेताहरु आफूहरुसँग भएको सहमति अनुसार यो कार्यक्रम सुरु भएको भन्दै खुशी छन् ।    

टेलिकमले सूचना प्रकाशित गरी पहिलो चरणमा १५ दिनको समय दिएर इच्छुक कर्मचारीहरुलाई माघ ११ गतेसम्म भीआरएसमा सहभागिताका लागि निवेदन दिन आह्वान गरेको थियो । पहिलो चरणमा ८ सय २२ ले निवेदन दिएका थिए । व्यवस्थापनका अनुसार दोश्रो चरणका लागि आवेदन असारमा आह्वान गर्ने योजना छ । त्यसपछि तेश्रो चरणमा समेत पुनः आवेदन आह्वान गरिनेछ । तीन चरणबाट आवेदन मागी १५ सय कर्मचारीलाई विदा दिने टेलिकमको योजना हो ।    

टेलिकमले प्रविधिको उच्चतम विकाससँगै प्रविधिमैत्री बन्न नसकेका कर्मचारीलाई विदा गरेर कर्मचारीको अधिक भार कटौति गर्ने र प्रविधिमैत्री र दक्ष कर्मचारी राखेर टेलिकमलाई प्रतिस्पर्धी बनाउने रणनीति अनुसार यो कदम चालेको बताउँदै आएको छ ।