काठमाण्डौ । आठ कक्षा उत्तीर्णहरुका लागि समेत जागिर अवसर खुलेको छ । र, यस्तो अवसर खुलाएको छ काठमाण्डौ महानगरपालिका कार्यालयले ।  

महानगरपालिकाले विभिन्न ८ पदमा १ सय १८ का लागि जागिर खुलाएको हो । 

महानगरपालिकाले अमिन(सर्वेक्षक) पदमा ३ जना, कम्प्युटर टेक्निसियनमा ३ जना, स्वास्थ्य सहायक र जुनियर सिभील इञ्जिनियर  पदमा २ २ जना, अनमीमा ८ जना, अहेब पदमा १० जना र नगर प्रहरीको जवान पदमा ९० जनाका लागि दरखास्त आह्वान गरेको हो । 

नगर प्रहरी पदमा ८ कक्षा उत्तीर्णले दरखास्त दिनसक्ने छन् भने सहायक स्तरको चौथो तहको पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्णले आवेदन दिन सक्ने बताइएको छ । अनमी र अहेब चौथो तहको पद हो । यसैगरी, अमीन, कम्प्युटर टेक्निसियन, स्वास्थ्य सहायक र जुनियर सिभिल इञ्जिनियरतर्फ पाँचौ तहका लागि सम्बन्धित बिषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन सक्ने बताइएको छ । 

महानगरपालिकाले जारी गरेको सूचना अनुसार इच्छुक र योग्य उम्मेदवारले आगामी साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको व्यक्तिले दरखास्त आह्वान गरिएका पदहरुमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।