काठमाण्डौ । अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागानी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन्। 

कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सचिव घिमिरले विद्युतीय सरकारी लेखाप्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए। उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बड्दो क्रममा रहेको धारणा राखे। 

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताए। उनले भोलिका दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जन गर्न कृर्षि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए। 

थापाले कर्मचारी विनियमावली अगाडि बढेको र कोषको स्रोतसाधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए। 

कार्यक्रममा शुभकामना सन्देश दिँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताए। कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाउँदै आएको उनको भनाइ थियो। 

कोषमा सहभागी हुने सम्भावना भएका संघसंस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालीन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाण्डौ उपत्यकाबाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिसकिएको जानकारी नेपालले दिए। कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको उल्लेख गर्दै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सीधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ। निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाई सकिएको छ।’

कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देव नारायण गुरागाईले कोषले गर्नुपर्ने बिषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए। वार्षिकोत्सव कार्यक्रममा २० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो।