असार ६ गते अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यसमिति निर्वाचन हुँदैछ । यो निर्वाचनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एन्फा अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समेत चुनावी प्रतिस्पर्धामा छन् । पुनः अध्यक्षको रुपमा आउन चाहेका शेर्पासँग फुटबललाई पूर्ण व्यवसायिक बनाउनेदेखि लिएर क्लबहरुलाई लगानीको आकर्षक क्षेत्र बनाई सेयर बजारसम्म ल्याउने कार्ययोजना रहेको छ । पछिल्लो समय निजी क्षेत्रले समेत लगानी गर्न चाहिरहेको फुटबल, एन्फा चुनाव, क्लबहरु सेयर बजारसम्म आउनसक्ने सम्भावना लगायतका विषयमा शेर्पासँग बिजशालाले गरेको कुराकानीको संक्षेप :

एन्फाको आगामी नेतृत्वमा पुनः दोहोरिन चाहनुभएको छ। कस्तो छ तयारी ? 
तयारी लगभग अन्तिम चरणमा पुगेको छ । हाम्रा मतदाता धेरै छैनन् । जिल्ला अधिवेशन सकिइसकेको छ, नामावली आइसकेको छ । उम्मेद्वारको दाबीविरोधको काम पनि सकिइसक्छ । अन्तिम नामावली प्रकाशन भइसकेको छ । २१ औं साधारणसभा र आगामी नेतृत्वको निर्वाचन असार ६ गते गर्ने कार्यक्रम छ । 

नेतृत्वमा पुनः दोहोरिन खोजिरहनुभएको छ । फेरि पनि तपाईले नै नेतृत्व पाउनुपर्छ भन्ने आधार के ?
हामी विगतदेखि परिवर्तनको नारा दिएर अगाडि बढेका छौं । परिवर्तनको नारा स्थापित गर्न विगतमा हामीलाई कोभिडले डिस्टर्ब गर्यो । समय मात्र होइन, आर्थिक क्षति पनि धेरै भयो कोभिडका कारण । अर्थबिना फुटबल सम्भव छैन । फुटबल नेपालको एक मात्र यस्तो खेल हो, जहाँ तलब पाएर खेलाडीले खेल्छन् । जिल्ला तथा क्लब र केन्द्र पनि आर्थिक रुपले सवल हुनुपर्छ । फुटबलको स्रोत भनेको स्पोन्सरसीप मुख्य हो । यस्तै, सरकारबाट आउने पैसा तथा विदेशी अनुदानमा पनि भर पर्नुपर्ने अवस्था छ । कोभिडका कारण स्रोतमा अधिकतम कटौति हुने काम भयो । सोचेंजस्तो गर्न चाहिँ सकिएन । तर, धेरै नयाँ–नयाँ काम सञ्चाल गर्यौं । महिला लिग सुरु गर्यौं, महिला फुटबलमा हामीले ४ वटा अन्तर्राष्ट्रिय उपाधि ल्यायौं, साफ च्याम्पियनसीपमा रनरअप भयौं, साउथ एशियन गेममा फ्रस्ट भयौं । तीन संस्करणको लिग पनि  सञ्चालन गर्यौं । 

अब भने लिगलाई लामो समयसम्म खेलाउने प्रयत्न गर्नेछौं । जबसम्म लिगलाई व्यवस्थित र लामो समयसम्म चलाउन सक्दैनौ, तबसम्म नेपाली फुटबलको विकासको परिकल्पना गर्नु बेकार हुन्छ । लिगलाई व्यवस्थित, क्लबलाई आर्थिक रुपले सवलीकरण गर्ने अबका हाम्रा अजेण्डा हुन् । लिग खेल्ने क्लबहरुको तालिमकेन्द्र पनि निर्माण गरेर फुटबल लिगलाई लामो समयसम्म चलाउने अब आउने कार्यकालको योजना छ । 

जिल्लाको जिल्ला संघ, प्रदेश संघलाई नेपालको स्थानीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरेर, आर्थिक सवलीकरण गर्दै तालिमकेन्द्र संचालन गर्ने, विभिन्न उमेर समूहका प्रतियोगिताहरुलाई जिल्लास्तरबाटै निरन्तरता दिने योजना छ । त्यसका लागि हामीले प्रष्ट कार्ययोजना बनाइसकेका छौं । 

हामीले विशेष सेन्टर पोखरामा निर्माणको योजना ल्याएका छौं । त्यो भनेको नेपालको सबैभन्दा ठूलो फूटबल एकाडेमीको रुपमा विकास गर्छौं । रेफ्री उत्पादन त्यही गर्छौ, प्रशिक्षक उत्पादन त्यही गर्छौ, प्राविधिक जनशक्ति त्यहीँ उत्पादन हुन्छन् । एकसाएक सक्षम खेलाडी पनि त्यहीँ उत्पादन हुन्छन् । क्षमतावान खेलाडी उत्पादन गर्ने केन्द्रको रुपमा त्यसलाई विकास गर्न खोजिरहेका छौं । त्यो भव्य संरचना हुनेछ । १२० खेलाडी बस्नसक्ने क्षमता, १३ वटा अफिसियल क्वार्टर लगायत नेपाली फुटबलको विकासका लागि उत्पादन केन्द्रको रुपमा यसलाई महत्वकांक्षी प्रोजेक्टको रुपमा अगाडि बढाउन खोजेका छौं । त्यसको टेण्डरिङ गर्ने काम सकिइसकेको छ, अब त्यसलाई सुरु गर्नेछौ । 

हिजोको दिनमा एन्फालाई आर्थिक रुपमा बलियो बनाउन, खेलाडीहरुलाई आर्थिक रुपले सवल बनाउनका लागि प्रतिकूल समय हुँदाहुँदै पनि के–के काम गर्नुभयो ? पुनः जित्नुभयो भने के गर्नुहुन्छ ?
खेल नभएसम्म आर्थिक रुपले फुटबल सवल हुँदैन । अधिकतम टुर्नामेन्टहरु हुनुपर्छ । लिग लामो समयसम्म हुनुपर्छ । मोफसलका प्रतियोगिताहरुका लागि पनि क्यालेण्डर फिक्स हुनुपर्छ । र, क्लबहरुको अरु राष्ट्रिय/अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने हुनुपर्छ। नेशनल टिमहरुको समेत त्यस्तै प्रतियोगिता गर्नुपर्छ । क्लब र खेलाडीहरुलाई क्रियाशील बनाउनुपर्छ, टुर्नामेन्टलाई रेगुलर गर्न सक्नुपर्छ । अनि मात्र खेलाडी, प्रशिक्षक र यहाँ इन्गेज जनशक्तिहरुको आर्थिक अवस्था बलियो हुन्छ । हामीलाई कोभिडको बेला धेरै समस्या पर्यो । कति खेलाडीलाई गाह्रो भयो, रेफ्री, प्रशिक्षकलाई गाह्रो भयो । कोभिड फण्ड जुटाएर त्यसबेला हामीले खेलाडी, प्रशिक्षक, रेफ्री लगायतलाई १ करोड १० लाख रुपैयाँ सहयोगका रुपमा वितरण गर्यौं ।

त्यसपछि दोश्रो वेभ आउँदा लिगको घोषणा गर्यौं, लिग सुरु गरेपछि पुनः कोभिड आएको अवस्था थियो । त्यसपछि हामीले नेपाल सुपर लिग फुटबल दर्शकबिना नै लामो समयसम्म सञ्चालन गर्यौं । त्यसले खेलाडीलाई उत्साह, खुशी र लाखौं कमाउने वातावरण बनाइदियो । त्यो मेरो लाइफमै सम्झनायोग्य एउटा काम पनि थियो । 

कोभिडको सेकेण्ड वेभको समाप्तिपछि लिगलाई पनि निरन्तरता दियौं । खेलाडीहरुलाई आर्थिक रुपले सम्पन्न हुने अवस्था बनायौं । अबको दिनमा हामीले १२ महिना नै सबै कार्यक्रम सेट गरेर खेलाडी र यहाँ इन्गेज जनशक्तिलाई व्यस्त बनाउने सोेचेका छौं । आउने दिनमा अब स्कूल लिग सुरु गर्छौ, ग्रासरुट लिगहरु सुरु गर्छौ । त्यसमा सहभागी हुने सबै राष्ट्रिय खेलाडी बन्न सक्दैनन्, तर हामी हजारौं खेलाडीलाई फुटबलमा सहभागी गरेर समाजमा सकारात्मक सन्देश, अनुशासित नागरिक बनाउने कामसँग सम्बन्धित अभियान पनि सञ्चालन हुन्छन् । 

नेपालका फुटबल खेलाडीहरु बाँच्नै नसक्ने अवस्थामा छन् भन्ने सुनिन्छ । उनीहरुलाई बाँच्नसक्ने बनाउनका लागि लिग नै विकल्प हो कि अरु केही योजना पनि छन् ?
फुटबल खेलाडीको काम खेल्ने हो । त्यसले गर्दा उनीहरुलाई जति इन्गेज गर्न सक्यो, उति राम्रो हुन्छ । खेलाडी पलायन भयो भनिन्छ, तर पलायन हुने मान्छे अन्य सेक्टरमा पनि हुन्छन् । यसरी पलायन हुनु संसारको एउटा ट्रेण्ड हो । यसलाई चाहिँ ठूलो रुपमा लिनुहुन्न । कुनै खेलाडी राम्रो अवसरको खोजीमा पलायन भयो भने उसको त्यो अधिकारको कुरा हो । नेपालको भन्दा राम्रो अवसर खोजेर जान्छ भने त्यो उसको अधिकारको कुरा हो । 

नेपालजस्तो सानो मुलुकमा फुटबल खेलको व्यवसायिक प्रवद्र्धनका लागि स्रोतहरुको व्यवस्थापन कत्तिको चुनौतिपूर्ण हुन्छ ? 
हामीले सरकारसँग धेरै ठूला माग राखेका छैनौं । सरकारले पूर्वाधारहरु बनाउँदै जानुपर्छ भन्ने हो । हामीकहाँ पनि व्यवस्थित स्टेडियमहरुको आवश्यकता छ । केही नभए पनि सबै नगर क्षेत्रसम्म एउटा स्तरीय स्टेडियम होस् भन्ने हामी चाहन्छौं । कम्तीमा २ वटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ । नेपालमा फुटबलको राम्रो सम्भावना छ । 

स्रोत व्यवस्थापनमा समस्या भए पनि हामीसँग फुटबल गेम हेर्ने दर्शकहरुको कमी छैन । अर्थको मुख्य स्रोत दर्शक हुन् । स्पोन्सरसीप अर्को स्रोत हो । मल्टिनेशन फुटबल आयोजना पनि अर्को स्रोत हुनसक्छ । पर्यटकहरुमाझ फुटबल खेलाउन सकिन्छ । ठूला फुटबल आयोजना गर्न सकिन्छ । 

क्लबहरुमा स्पोन्सरसीप ल्याउन सकिन्छ । धेरै कम्पनीलाई क्लबहरुमा ल्याउन सकिन्छ । मेरो बुझाईमा फुटबलमा लगानी गर्न मान्छे तयार छन्, तर फुटबल प्रतियोगिताहरु निरन्तर रुपमा सञ्चालन हुनुपर्छ । बीच–बीचमा ब्रेक भयो भने खेलाडी पनि पलायन हुन्छन् र कम्पनी पनि आउँदैनन् । जुनसुकै काम पनि निरन्तर रुपले सञ्चालन गर्न सक्यो भने राम्रो हुन्छ । 

फुटबल क्लबहरुलाई कम्पनी मोडलमा लानका लागि के गर्नुपर्छ ? के फुटबल क्लबहरुलाई पनि सेयर बजारमा ल्याउन सकिन्छ ? यो पनि लगानी र रिटर्नको हिसाबले राम्रो क्षेत्र बन्नसक्छ ?
हामीले यो कामको सुरुवात गरिसकेका छौं । क्लब लाइसेन्सिङको नयाँ नियमावली जारी गरिसकेपछि एन्जीओको रुपमा रहेका क्लबहरु ध्माधम कम्पनी मोडलमा जान थालेका छन् । अब क्लबहरुले चन्दा माग्ने होइन, सेयर बिक्री गर्न थाल्नुपर्छ । लगानी भित्र्याउँदै ठूलो र व्यवस्थित बन्न सक्नुपर्छ । यो भयो भने कम्पनी इन्भेष्टमेन्ट कम्पनीको रुपमा स्थापित हुनसक्छ । लगानीका अनेक विकल्पहरुमा लगानी गर्न सकिन्छ । त्यसरी लगानी गर्दा आएको रिटर्नको निश्चित प्रतिशतबाट क्लब चल्नसक्छ । 

तपाईले अर्को कार्यकालका लागि पनि अवसर पाउनुभयो भने फुटबल क्लबहरु पनि सेयर बजारमा आउनेछन् भन्दा सही हुन्छ?
प्राइभेट लिमीटेडको रुपमा क्लबहरु दर्ता हुने क्रम सुरु भइसकेको छ । त्यसपछि हामी क्लबहरुलाई बिस्तारै पब्लिक कम्पनीमा रुपान्तरण गरी सर्वसाधारणमा सेयर जारी गरी सेयरको दोश्रो बजारमा सूचीकरण हुनेसम्मको अवस्था बनाउनेछौं । हामी त्यही बाटोमा छौं । तर, अहिलेका लागि कम्पनीमा जानु नै ठूलो चुनौति छ । 

अहिले ४–५ वटा क्लब त्यो मोडलमा जाँदैछन् । भोलिका दिनमा सबै क्लबहरुले त्यही मोडल पछ्याउनुको विकल्प छैन । 

ती क्लबहरुको अब आफ्नै स्टेडियम हुनुपर्यो, आफ्नै तालिम केन्द्र हुनुपर्छ । आफ्नै एकेडेमी हुनुपर्छ । यो किसिमको पोलिसी पनि लिएर आउँदैछौं । 

अर्को कार्यकाल पनि नेतृत्व गर्ने अवसर पाउनुभयो भने निजी क्षेत्रसँगको कस्तो सहकार्यको आशा राख्नुभएको छ ? 
अब फुटबल विजिनेश भइसकेको छ । यस्तो इभेन्ट हो फुटबल, जसको माध्यमबाट निजी क्षेत्रको विजिनेशको नसोचेको प्रमोसन हुन्छ । डेटा अनुसार नेपालमा फुटबलका ९० लाख दर्शक छन्। विज्ञापनको प्रभावकारिता स्टेडियममा बढी हुन्छ । एउटा क्लबमा ब्राण्ड जोड्नेबित्तिकै राम्रो काम गर्छ ।

फुटबलसँग जोडिएर आउने ब्राण्डको मार्केटिङ राम्रो भएको छ । सामान्य बजेटमा कसैको ब्राण्ड ९० लाखको आँखामा पर्नु चानचुने कुरा होइन । फेरि विशेष गरी युवाहरुमा ब्राण्डिङ गर्नु भनेको लाइफलङ ब्राण्डिङ गर्नु पनि हो । अर्को कुरा निजी क्षेत्रलाई हामीले  सीएसआरको पैसा फुटबलमा लगाउनुस् भनेका छौं । 

यस्तै, अब विज्ञापन एजेन्सीहरुले एउटा क्लब जिम्मा लिनुपर्छ । त्यसपछि तिनै एजेन्सीमार्फत क्लबहरुको प्रायोजक खोज्न सकिन्छ । यो मोडलबाट पनि हामीले काम गरिरहेका छौं । 

भनेपछि अबको दिनमा नेपालमै पनि फुटबल खेल्नेहरु भोको पर्नुपर्ने छैन ? कोही फुटबलमा आउँदैछ भने उसको आर्थिक सुरक्षाको ग्यारेण्टी हुन्छ ?
हामीले त्यो वातावरण बनाइरहेका छौं । जस्तै, ग्रास रुटमा प्रतियोगिता सञ्चालन गरेर १३वर्ष मुनिका क्रिम बच्चाहरुलाई एकेडेमीमा प्रवेश गराउँछौं । हिजो एन्फाले मात्र यो काम गथ्र्यो, अब भने प्राइभेट सेक्टरले नै एकेडेमी सञ्चालन गरेर अगाडि बढ्न सक्छन् । हाल एन्फा र क्लबहरुले सञ्चालन गरेका कुल १० वटा एकेडेमीहरु छन् । बिस्तारै अन्य संघसंस्थाले पनि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ । त्यसपछि हामीसँग १३ वर्षमाथि र १८ वर्षमुनिका युथहरुको टिम हुन्छ । टुर्र्नामेन्ट पनि व्यवस्थित ढंगले सञ्चालन गरिन्छ । १८ पछि जुन खेलाडीलाई जुन क्लबले लगानी गरेको हुन्छ, त्यसले खेलाडीलाई अर्को क्लबलाई समेत बेच्न पाउँछ । यो सिस्टमहरु हामीले विकास गरिसकेका छौं । खेलाडी बेचेर पनि अब क्लबहरु चल्न सक्छन् । कुनै खेलाडी एउटा क्लबबाट केही वर्षपछि अर्कोमा जाने हो भने पैसा तिरेर जानसक्छ । व्यवसायिकता सुरु भइसकेको छ । त्यसपछि हामीले लिगलाई लामो समय गर्न सक्यौं भने प्रत्येक वर्ष १००० खेलाडी इन्गेज हुने वातावरण बन्छ । अहिले पनि ५० हजारदेखि मासिक २ लाख रुपैयाँ तलब खाने खेलाडीहरु हामीसँग छन् । 

हामी साफ लेबलको लिग पनि ल्याउन सक्छौं । नेपालको लिगमा राम्रो खेल्नेहरु साफमा जान पाउँछन्, साफमा राम्रो खेल्नेहरु आशियानमा जान पाउँछन् । आशियानमा पनि राम्रो गरे भने यूरोपतिरै पनि खेल्न जानसक्छन् । त्यसकारण खेलाडीहरुको भविष्य सुनिश्चित हुने गरी कार्ययोजना लिएर आउनेछौ । 

यस्तै, सबै फुटबल खेलाडी राष्ट्रिय टिममा आउन नसक्लान् । त्यसकारण हामीले सञ्चालन गर्ने एकाडेमीहरुले १२ कक्षासम्मको पढाईको समेत व्यवस्थापन गर्नुपर्छ । खेलाडीले पढेको छ भने भोलिका दिनमा कुनै जागिर पाउन पनि गाह्रो हुन्न । भोलि विजिनेशमेन बन्नसक्छ, विभिन्न जागिरमा ज्वाइन हुनसक्छ । फूटबलमै पनि धेरै जनशक्ति आवश्यक पर्नसक्छ । शिक्षाबिनाको फुटबल क्षेत्रको विकास सम्भव छैन । 

फुटबलमा ध्यान हुने बच्चाहरु ६ देखि १२ वर्ष ग्रास रुटमा इन्गेज हुन्छ । १३ देखि १८ वर्षसम्म युथ टिममा सहभागी हुन्छ र त्यसपछि खेलाडी व्यवसायिकतातर्फ उन्मुख हुन्छ । 

आगामी दिनमा फुटबल खेल्ने भोकै पर्नुपर्ने अवस्था आउँदैन । फुटबलबाट तलब राम्रो हुन्छ । नामसँगै दाम पनि कमाउँछ । ब्राण्ड एम्बेस्डरबाट पनि पैसा कमाउन सक्छ । विभिन्न कम्पनीहरुले उसलाई पार्टनरसिपमा राख्न सक्छन् । भोलि कम्पनी वा क्लब नै चलाउन सक्छन् । एउटा खेलाडी भविष्यमा कम्पनीको मालिक बन्न सक्छ । त्यति मात्र नभएर फुटबलले अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउने काम पनि गर्छ । 

अन्त्यमा, अन्य सबै खेल छाडेर फुटबल नै किन रोज्नुभयो ? 
फुटबलमै लागियो पहिलादेखि नै । मेरो आफ्नै पनि क्लब छ । फुटबललाई माया गरिरहने एउटा पागल व्यक्तिको रुपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । बाध्यताले म यो फिल्डमा आइपुगेँ । फुटबलको पागलप्रेमी हुँ म । मेरो क्लब अहिलेसम्म लसमा छ, तर व्यवसायिकतासम्म पुग्नुपर्छ भन्ने मेरो मान्यता चाहिँ डगमगाएको छैन ।