काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अब फेरि लकडाउनको बाटो अपनाउन नहुने बताएका छन्। 

राजधानीमा सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले  अब फेरि लकडाउन भए अर्थतन्त्रले थेग्न नसक्ने बताए। ‘कोभिडबाट सुरक्षित हुने उपाय खोज्नुपर्छ तर लकडाउनको बाटो अपनाउनु हुँदैन’, उनले भने, ‘२ वर्ष थला परेपछि फेरि चलायमान हुन लागेको छ, अब लकडाउन गर्नतर्फ लाग्नु हुँदैन।’

अर्थतन्त्रमा केही दबाब परेको उल्लेख गर्दै शर्माले भने, ‘नेपालको अर्थतन्त्र खराब भइसकेको भनिँदैछ, त्यो होइन।’ 

तरलताको समस्या क्रमशः व्यवस्थापन भइरहेको अर्थमन्त्री शर्माले बताए। ‘माघ महिनाभरि तरलता संकट समाप्त हुनेछ’, उनले भने, ‘त्यसका लागि आवश्यक कदमहरु अगाडि बढाइएको छ।’

विदेशी मुद्राको सञ्चिती केही घट्न स्वाभाविक रहेको शर्माको भनाइ छ। ‘डलरको मूल्य बढ्नु, ढुवानी मूल्य बढ्नु, भाडा वृद्धिलगायतका कारण यस्तो भएको हो’, उनले भने, ‘विदेशी मुद्रा सञ्चितीलाई बढाउन हामीले केही काम गरिरहेका छौँ। 

राष्ट्र बैंकले केही प्रस्ताव पठाएको भन्ने सुनेँ, त्यसका बारेमा बुझेको थिएँ, तपाइँको सुझाव गइसकेपछि सही निर्णयतिर लैजाने कुरामा मेरो पहल हुनेछ।’ 

हिजोका दिनमा भएका त्रुटि पनि सच्याउन आफू तयार रहेको शर्माले बताए। ‘अब निजी क्षेत्रसँग हातेमालो गरेरै अगाडि बढ्ने हो’, उनले भने, ‘जीडीपीमा निजी क्षेत्रको योगदान ७२ प्रतिशत र बैंकिङबाट २० प्रतिशतको योगदान छ। अब उत्पादन बढाउने कुरामा लागौँ।’ 

पुँजीगत खर्च निरन्तर वृद्धि भइरहेको अर्थमन्त्रीले जानकारी दिए। ‘पुँजीगत खर्च कम छ’, उनले भने, ‘चालु खर्च ३८ प्रतिशत भएको छ। ९.२ प्रतिशत पुँजीखर्च भएको छ। वित्तीय क्षेत्रमा २५.२ प्रतिशतमा खर्च भएको छ।’ 

विधेयक पछि पास हुनु, चाडपर्वलगायतका कारण लक्ष्यअनुरुप पुँजीगत खर्च गर्न नसकिएको शर्माको भनाइ थियो। ‘संरचनागत समस्याहरु छन्। काम छिटो गर्नेभन्दा पनि विस्तारै गर्ने प्रवृतिले पनि अपेक्षित परिणाम आउन सकेको छैन’, उनले भने, ‘अर्थ मन्त्रालय आफैँले खर्च गर्न मिल्दो रहेनछ। सहजीकरण गर्ने काम अर्थ मन्त्रालयको रहेछ, निरन्तर गरिरहेकै छ।’

‘७ प्रतिशत वृद्धिदरको लक्ष्य स्वाभाविक थियो’, शर्माले भने, ‘अर्थतन्त्र दौडिनुपथ्र्यो, थलामा पर्यो, बेमौसमी वर्षाले धानबालीमा क्षति पुग्यो। २१ प्रतिशतले योगदान गर्ने कृषि क्षेत्रमा ठूलो क्षति भयो। पूर्वाधारमा ठूलो क्षति भयो। नयाँ भेरिएन्टले पनि त्रास सिर्जना गर्यो। यसका बाबजुद हामीले आफ्नो प्रयासलाई जारी राख्ने छौँ।’