काठमाण्डौ। विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो ‘अमेरिकन आइडल’ को उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन्।

आइडलको १८ औँ संस्करणको टप सेभेनमा दिवेश पर्न सफल भएका हुन्। उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट ७ को छनोट गरिएको थियो। 

अमेरिकाको कन्सास राज्यको विचिटा सहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरिरहेका छन्। दिवेशले उत्कृष्ट ७ मा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको संगीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए। 

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबीसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ।