काठमाण्डौ। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’का लागि आवेदन खुला गरेको छ। 

आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’का लागि आवेदन खुलाएको  हो। 

यसअघिको आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो। त्यसमध्ये ३५० भन्दा बढी  व्यवसायहरु इन्क्युबेट भइसकेका छन्। 

आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका  व्यवसायहरुमध्ये ६५ भन्दा बढी व्यवसायहरु सफलतापूर्वक सञ्चालनमा रहेका छन्।

आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्बद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्ध गर्ने व्यावसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिँदै सोही विचारहरुलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरसिप,  रियालिटी टीभी शोका साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत पुर्याउँदै आएको छ।

हालसम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमका मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको व्यापक सहभागिता जुटाउन सफल भएको छ। 

पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको उपस्थिति थियो। कार्यक्रममा वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका देश प्रतिनिधि डा. घनश्याम गुरुङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा,  शिलापत्रका सहसंस्थापक, अध्यक्ष डा. सुरेश सिम्खडा, स्पेस ४ केका एमडी प्रभात चलौने, नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणालीका सीईओ सञ्जीव सुब्बा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाण्डौ मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुवेदीले आफ्ना मन्तव्य राखेका थिए।