काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेसन यही भदौ १५ गते बुधबारसम्म बुझाउन सकिनेछ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ पनि आयोजना हुनेछ। 

यसैगरी नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरु स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु रहेको छ। 

प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन्। 

यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरुलाई प्रदान गरिने अवार्डहरुमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन्। अवार्डमा नोमिनेसन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ। 

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। 

यसैगरी प्रि–इभेन्ट क्याम्पियनका रुपमा कात्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी डिजिटल स्टार्टहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनका रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुनेछ। विभिन्न १२ विधामा हुने छनौट प्रक्रियाका लागि १२ जना विज्ञ जुरी सदस्य र १५ बढी विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ। 

आइसिटी अवार्ड प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्ति, संस्था, कम्पनी, विद्यार्थी र इन्नोभेसनहरुलाई सम्मान र प्रोत्साहन गर्ने नेपालको सबैभन्दा भव्य र प्रतिष्ठित प्लाटफर्म हो। यसमा सहभागी स्टार्टअप, इन्नोभेटर र नयाँ प्रोडक्टहरु विकास गरेका व्यक्ति तथा संस्थालाई विभिन्न किसिमले सहयोग गर्ने, लगानीको वातावरण बनाउने र अन्तर्राष्ट्रिय प्लाटफर्महरुमा समेत सहभागी गराउँदै स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपूर्ण भूमिका निवार्ह गरिरहेको छ। 

यसैगरी डिजिटल गर्भनेन्स, एजुकेशन र सर्भिसेसमार्फत डिजिटल रुपान्तरण र यसको इकोसिस्टमको विकासमा योगदान दिइरहेको आयोजकले जनाएको छ। अवार्ड विजेताहरुले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरु प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्। यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सस्थाहरुको सहकार्य रहँदै आएको छ। थप जानकारीका लागि वेबसाइट www.ictaward.org वा फोन नं. ९८५११४१३४८ र ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ।