– अर्जुन तिमिल्सिना

काठमाण्डौ । हिजोआज सेयर बजारमा एउटा भनाइ र चर्चा निकै चल्ने गरेको छ– ‘बरु अमेरिकाको डीभी पर्ला, आईपीओमा भरेको सेयर पटक्कै पर्दैन।’ 

यस्तो चर्चा सेयर बाँडफाँडका क्रममा सञ्चारकर्मीदेखि ब्रोकर हाउससम्मै सुनिन्छ। हुन पनि अचेल त्यस्तै नै छ। 

झन्डै ३५ लाखबराबर डिम्याट खाता खुलेका छन्। त्यसैले अहिले सेयर पर्नभन्दा डीभीको सम्भावना बढेर गएको चर्चा हुने गरेको छ। 

पछिल्लोपटक रुरु हाइड्रो र महिला लघुवित्तको निष्कासन गरेको आईपीओमा धेरैजसोको हात नै खाली नै रह्यो। सरदर १७ लाखभन्दा बढी आबेदन पर्छन्। २÷३ लाख कित्ता मात्रै सेयर प्राथामिक बजारमा आउँदा त अधिकांशको हात खाली भएको हुन्छ। 

अहिलेको १० कित्ता नीतिले त गोलाप्रथामा नै समावेश गर्नुपर्ने हुन्छ। अहिलेको माग आवेदनबाट अनुमान लगाउँदा अब आउने कुनै पनि प्रथामिक सेयर १ करोड ८० लाख कित्ताभन्दा कम आएमा सबैले १० कित्ता पाउने सम्भावना नै रहँदैन। 

अब अमेरिकी डीभी चिठाको कुरा गरौँ। हरेक वर्ष संसारबाट ५० हजार आप्रवासीलाई अमेरिकाले डीभी चिठा खोलेर भित्र्याउने गरेको छ। 

सन् २०२२ का लागि यो डीभी कार्यक्रम गत असोज २१ गतेदेखि कात्तिक २५ सम्म खुलेको थियो। कोभिडको माहामारी तथा निवेदन दिन पासपोर्टको अनिवार्यताले गर्दा केही कम आवेदन परेका छन्। त्यसैले भर्नेहरुलाई विगतका वर्षभन्दा डीभी पर्ने सम्भावना केही बढी रहेको छ। 

अमेरिकी दूतावासको वेबसाइटमा राखिएको सूचनाका आधारमा सन् २०२२ का लागि खोलिएको चिठाको नतिजा यही मे ८ अर्थात यही वैशाख २५ गते सार्वजनिक हुँदैछ। छानिएका योग्य आवेदकले दूतवासमा अमेरिका जानका लागि निवेदन दिन सक्नेछन्।