काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अघिल्लो बिहीबार मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समयदेखि रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरको कारोबार फुकुवा गर्नसक्ने निर्देशिका लागू गरेको थियो। तर निर्देशिका लागू भएको दुई साता बित्दा पनि रोकिएका सेयरको कारोबार फुकुवा हुन सकेको छैन। 

सेयर कारोबार रोक्का रहेको कम्पनीहरुले प्रक्रिया पुर्याई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार सञ्चालनमा लागि आवेदन दिनुपर्ने हुँदा ढिलाई भएको हो। 

सेबोनले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने व्यवस्था गरेको थियो। 

सोही अनुसार शुक्रबारसम्म दुई वाणिज्य बैंक(नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक)को सेयर कारोबार मात्र फुुकुुवा भएको नेप्सेले जनाएको छ।

‘रोकिएको कारोबार फुकुवाका लागि कम्पनीहरुले विभिन्न प्रक्रिया पुर्याउनुपर्ने हुन्छ। अहिले धेरै कम्पनीहरुले कारोबार फुकुवाको थप प्रक्रिया बुुझिरहेका छन्।’ नेप्सेका एक उच्च अधिकारीले भने–‘अर्को हप्तासम्म बीमा कम्पनी, बैंकलगायत धेरै कम्पनीहरुको सेयर कारोबार फुकुवा हुने सम्भावना छ ।’

सबै प्रक्रिया पुर्याएर आउने कम्पनीको नेप्सेले जतिसक्दो चाँडो कारोबार फुकुवाको निर्णय गरिदिने ती अधिकारी बताउँछन् । 

सेबोनले कार्यान्वयनमा ल्याएको निर्देशिकाको दफा १३ मा सेयर कारोबार फुकुवासम्बन्धी विशेष व्यवस्था रहेको छ। सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा गर्न कम्पनीहरुले सोही अनुसारको प्रक्रिया पुुर्याउनुपर्ने त्यसमा उल्लेख छ । 

सेबोनको निर्देशिकामा ‘आधारभूतबाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्ने, प्राप्त निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्ने र सम्बन्धित नियमनकारी निकायले सेयर कारोबार रोक्का राखेको भएमा सम्बन्धित नियमनकारीको सहमतिमा आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्न सकिने उल्लेख छ । 

विगतमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समयदेखि सेयर कारोबार रोकिँदा लगानीकर्ताको लगानी बन्धकमा परेपछि विरोधका चर्का स्वरहरु सुनिन थालेका थिए । तिनै आवाजहरुलाई सम्बोधन गर्दै धितोपत्र बोर्डले सूचीकृत संस्थाहरु मर्जर वा प्राप्तिमा जाँदा बढीमा १५ दिन मात्र सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था गरेको छ । यो व्यवस्थापछि सेयरधनीलाई राहात भएको छ । तर, सूचीकृत संस्थाहरुले रोकिएको सेयर कारोबार फुकुवाका लागि समयमै नेप्सेमा नजाँदा अर्को समस्या उत्पन्न भएको छ । नेप्सेभन्दा पनि सूचीकृत संस्थाहरुकै ढिलासुस्तीले स्पष्ट नियम आइसक्दा समेत धेरै कम्पनीको कारोबार फुकुवा हुन सकिरहेको छैन ।