धनगढी । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। 

सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित ‘लथालिंग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ?’ विषयक अन्तर्क्रियामा पोखरेलले पछिल्लो दुई दशकमा राजनीतिक नीति र दस्ताबेजहरु मात्र आएको दाबी गरेका हुन्। ‘पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठनबाहेक सबै राजनीतिक दस्तावेजहरुमात्र ल्याएछौँ’, उनले भने, ‘जसले पनि अर्थतन्त्रमा हामी सचेत छैनौँ भन्ने देखिन्छ।’

वैदेशिक रेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको पोखरेलको भनाइ थियो। उनले सहज रुपमा कर तिर्ने र घुस ख्वाउनुपर्ने अवस्था रोक्न सकिएपनि उद्योगी–व्यवसायीलाई राहत हुने भन्दै रेमिट्यान्स नियमित आउँदा नेताहरुलाई हाईसन्चो भएको बताए। ‘रेमिट्यान्स आइरहेको छ। आवाज उठाउने र सचेत गराउने युवाहरु वैदेशिक रोजगारीमा गएका छन्। यसले नेताहरुलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो’, उनले भने।

योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले निजी क्षेत्रले पहिचान चाहेको र त्यसको लागि सरकारले सहजीकरण र सुविधा दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रमा दशकौँदेखि पत्रकारिता गर्दै आएका दीर्घराज उपाध्यायले सुदूरपश्चिम क्षेत्रलाई पर्यटन र कृषिमा केन्द्रित गर्नसके आर्थिक विकास गर्न सकिने बताए। ‘खप्तड, बडिमालिका, सात भगवतीजस्ता पर्यटकिय क्षेत्रको प्रवर्द्धन गर्ने र धान कोदोको उत्पादन वृद्धि र ब्रान्डिङ गर्न सकिएमा प्रदेशको तीव्र विकास गर्न सकिन्छ’, उनले भने।

यसका लागि तीन तहकै सरकारले सामुहिकरुपमा प्रदेशको आर्थिक विकास गर्न मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी–व्यवसायी पिडित भएको बताए। ‘सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ। यसले हामी सबैलाई पीडित बनाएको छ’, उनले भने, ‘यो गलत नीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने राम्रो उदाहरण हो।’

सुदूरपश्चिम क्षेत्रमा पर्यटनको अथाह सम्भावना भएको भन्दै श्रेष्ठले यसमा सहकार्य र सामुहिक भावनामार्फत अगाडि बढ्न सकिने बताए। उनले पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने स्पष्ट पारे।

श्रेष्ठले आफ्नो परिवारको सानो व्यवसायबाट अगाडि बढ्दै विस्तार भएको जानकारी दिँदै आफूले उद्योगी–व्यवसायीको समस्या नजिकबाट भोगेको बताए। ‘हामी नवप्रवर्तनमा विश्वास गर्दछौँ र सधैँ तपाइँहरुबाट नयाँ कुराहरु सिक्न चाहन्छौँ’, उनले भने।