काठमाण्डौ । ‘एक्सेल एन्ड इलेभेट २०७९–८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनदिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप’ पोखरामा सम्पन्न गरेको छ। 

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त सम्मेलन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो। सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीका कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन्। 

सम्मेलनमा विभागीय प्रमुखसहित देशैभरिबाट प्रशासनिक कर्मचारी गरी २०० जनाभन्दा बढीको सहभागिता थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे। 

खत्रीले बीमा समितिबाट कर्मचारी दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्देशन प्राप्त भएअनुसार यो कार्यक्रम सञ्चालन गरिएको र आगामी वर्षमा पनि यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गरिने जानकारी गराए। 

कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए। 

सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सञ्चारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन्। 

नेपाल पुनर्बीमा कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमांकन प्रक्रियाको महत्वमा प्रकाश पारेका थिए। यसका साथै कम्पनीका विभागीय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजीकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ताहरुलाई छिटोछरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए। 

सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो।