काठमाण्डौ । पछिल्लो समय सेयर बजार दैनिकजसो घटिरहेको छ। 

गत वर्ष भदौ ३ गते ३२०० को उच्च विन्दु चुमेको बजार ११०० अंकभन्दा बढीले घटिसकेको छ। बजार निरन्तर घट्दा धेरै लगानीकर्ता निराश अवस्थामा छन्।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सेयर बजार सधैँ बैंकको ब्याज सस्तो हुँदा माथि जाने र ब्याज बढ्दा तल झर्ने गरेको बताए। ‘सेयर बजार एउटा ट्रेन्डमा चल्ने गर्छ’, बिजशालाकर्मीसँगको कुराकानीमा उनले भने, ‘यहाँ ठूलाको खेल पनि हुन्छ। बजार १–२ दिन बढाइदियो अनि साना हौसिन्छन् र किन्छन्। त्यसपछि ठूलाले सप्लाई दिन थाल्छन्। थेग्न नसक्नेहरुले बेच्नुपर्ने हुन्छ। त्यसपछि बजार घट्न थाल्छ।’

क्षेत्रीले नेपालको सेयर बजारमा खासै नियम नभएको बताए। ‘बैंकहरु उदार हुँदामात्रै हाम्रो सेयर बजार बढ्ने गर्छ’, उनले भने। 

अहिले संसारभरको सेयर बजार घटिरहेको उल्लेख गर्दै क्षेत्रीले यसको मुख्य कारण बैंकको ब्याजदर नै रहेको बताए। ‘अमेरिकामा पनि ब्याजदर बढेर ९ प्रतिशत पुगेको छ। युरोपमा पनि त्यस्तै अवस्था छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पनि ब्याजदर बढेको छ र डलर बलियो भएको छ।’

लामो समयदेखि नेपालका बैंकमा तरलता संकट कायमै रहेको क्षेत्रीले बताए। ‘अन्तरबैंकिङ ब्याजदर बढेको छ’, उनले भने, ‘यस्तो बेला सेयर बजार उत्साहजनक अवस्थामा माथि जान सक्दैन।’

अर्थतन्त्रमा सुधार नभएसम्म बजार माथि जान नसक्ने क्षेत्रीको तर्क छ। ‘बजेट आयो, अब मौद्रिक नीति आउँदैछ’, उनले भने, ‘तर, मौद्रिक नीति कसिलो आउन सक्छ। किनकि बजेट केही उदार छ।’

नयाँ नोट छाप्दा श्रीलंकाको अवस्था बिग्रिएको उदाहरण दिँदै क्षेत्रीले भने, ‘अहिले मूल्यवृद्धि ह्वात्तै बढेको छ, यसलाई नियन्त्रण गर्नुपर्नेे हुन्छ। यसका लागि कसिलो मौद्रिक नीति आउन सक्छ। त्यसैले राष्ट्र बैंकले जश पाउने मौद्रिक नीति ल्याउन सक्दैन।’

क्षेत्रीले १८ खर्ब रुपैयाँको बजेट ठूलो रहेको बताए। ‘बजेटको आकार बढ्दै जाने तर सरकारले खर्च गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउँछ’, उनले भने।