-हरिप्रसाद सिटौला
सर्वप्रथम आफू असल मान्छे बनौं र अरुलाई पनि असल बनाऔं त्यसपछि आफ्नो पद र जिम्मेवारीलाई अत्यन्तै ध्यानमा राखौं । सबै काम र कुरा आफैंले जानेको छु भनेर कसैले पनि भन्नु हुँदैन, सकेसम्म कसैको पनि चित्त दुखाउने र मनोबल गिराउने काम कुराहरु गर्नु हुँदैन । आफ्नो जिम्मेवारी तथा पेशा के हो त्यसमा दक्ष हुनु राम्रो हुन्छ।

आज यो संसारलाई कोरोना भाइरसले हल्लाइरहेको छ । आजको यो समय आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने हो । अति दर्दनाक समय छ, मान्छेदेखि मान्छे नै टाढा हुनु परेको समय छ । यस्तो बेलामा हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । स्वास्थ्य नै मानवको सबभन्दा ठूलो धन हो । हामी स्वस्थ रहे मात्र समृद्धिका सपनाहरु पूरा गर्न सकिन्छ । 

आजको यो महत्वपूर्ण समयमा सरकारले पनि निम्न कुराहरुलाई ध्यान दिएर अगाडि बढ्नुपर्छः
१) स्वास्थ्यविज्ञको सुझाव
२) डब्लुएचओको निर्देशन
३) विश्वले अपनाएका कोरोनासँग बच्ने अति प्रभावकारी उपायहरु फलो गर्ने
४) कतिपय देशहरुले समयमा सजग नभई कोरोना संक्रमणबाट व्यहोरेको क्षतिबाट पनि नेपालले बेलैमा पाठ सिक्नुपर्छ । जस्तै ः अमेरिका, इटली, फ्रान्स आदि
५) स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने उपकरणहरु व्यवस्था गर्ने र उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनु पर्छ ।
६) हाल नेपालमा बसोबास गर्ने नेपाली तथा विदेशी सबैको अनिवार्य रुपमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्नुपर्छ । संक्रमितको संख्या पत्ता लागेपछि मात्र उपचार गर्न सजिलो भई अहिले देखिएको त्रासको वातावरण हटेर जान सक्छ । जर्मनीमा विज्ञको सुझाव मानेर पूरै देशभरको परीक्षण गरिएकाले देखिएका संक्रमितहरुको बेलैमा उपचार भई अत्यन्तै कम गर्न सकिएको रहेछ यसबाट नेपालले पनि पाठ सिक्नुपर्छ ।
७) कोरोना सँगको तेस्रो विश्वयुद्ध जित्न निम्न निकायहरुलाई परिचालन गर्दै नीजहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूत गर्नु जरुरी देखिन्छः स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु, जनप्रतिनिधिहरु, स्वयम्सेवकहरु
८) नेपाल र भारत सरकारले खुला सिमानालाई ध्यान दिंदै दुवै देशका सिमानामा आवतजावतमा कडाई गर्दै दुवै देशभित्र प्रवेश गर्नेहरुलाई सिमानामै आवश्यक मात्रामा क्वारेन्टाइन कक्षहरु निर्माण गर्ने र संक्रमण परीक्षण गरी आ–आफ्नो देशमा जान दिने व्यवस्था गर्ने
९)नेपाललाई भारतको संक्रमणले बढी प्रभाव पार्ने भएकोले भारतको लकडाउनको अवधि हेरी नेपालमा पनि लकडाउनको मिति थप गर्ने
१०) हालको लकडाउनले गर्दा धेरै मजदुर तथा श्रमजीवि वर्गले अति नै दुःख पाएको बेला छ, भोकभोकै कयौं दिन नखाएको मान्छे पैदल यात्रा गरी आफ्नो परिवार भेट्न गइरहेको अवस्थालाई ध्यानमा राखी विशेष राहतको कार्यक्रम बनाई यथाशक्य छिटो वितरण गर्नुपर्छ ।
११) सर्वदलीय समिति गठन गरी तुरुन्त काम शुरु गर्नुपर्छ । विशेषगरी देश विदेशमा रहेका ठूला व्यापारी, बैंक तथा वित्तिय संस्था र धनाढ्य व्यक्तिहरुलाई यो संकटमा आर्थिक सहयोग गर्न अनुरोध गर्नुपर्दछ । सहयोगबापत उठेको रकम हिनामिना हुने डरले कसैले चासो नदिएकोले रकम हिनामिना नहुने गरी वितरण गर्ने मेकानिजम बनाई विश्वासको वातावरण सरकारले तयार गर्नु आजको आवश्यकता हो ।
१२) सरकारले सबै वर्ग र क्षेत्रको हित हुनेगरी विशेष सहुलियतका प्याकेजहरु ल्याउनुपर्छ । नत्र दैनिकी चलाउन पनि गाह्रो पर्छ । धेरै वटा राष्ट्रले यो काम अगाडि बढाइहेका छन् । हामीले पनि ढिलाई गर्नु हुँदैन । विकासको बजेट एक दुई वर्षलाई कटौती गरेरै भए पनि सहुलियत प्याकेज नल्याए अर्थतन्त्र नै ध्वस्त हुनसक्छ ।
१३) खाद्य संकट हुने अवस्थालाई ध्यान दिंदै सरकारले उत्पादनमूलक क्षेत्रमध्ये कृषिलाई पहिलो प्राथमिकतामा राख्दै विदेशबाट फर्केका साथीहरुको ज्ञान सिपलाई फाइदा उठाउन र उत्पादन बढाउन तुरुन्तै फलाउन सकिने जातका सब्जीहरु, फलफूलहरु तथा अन्य खाद्य बालीहरु लगाउन आवश्यक पर्ने बिउबिजन र मलखाद विशेष सहुलियत दरमा उपलब्ध गराउन आवश्यक छ ।
१४) यो बेला हामी सबैले कुनै राजनीतिक एजेण्डा नबनाई वा प्रतिशोध नलिई नितान्त मानवीय भावनाले सहयोग गर्नुपर्दछ । अहिले कुनै दल विचार र सिद्धान्त विशेषको वकालत गर्ने बेला होइन । सबैले सहकार्य गरेर जनताको हित गर्ने, जनता र राष्ट्र बचाउने समय हो । सरकारकै पार्टीको अर्को खेमाले सुध्रिएर सहकार्यलाई अगाडि बढाउनु बुद्धिमानी हुन्छ । यो बेला सत्ता पक्ष र प्रतिपक्षीले दम्भ, घमण्ड र प्रतिशोध साँध्ने बेला होइन । सत्तापक्षले पनि प्रतिपक्षसँग समन्वय र सहकार्य गर्न सक्नुपर्छ र प्रतिपक्षले पनि सरकारलाई सघाउन र जनताको हितको लागि ऐक्यबद्धता देखाउन सक्नुपर्छ । 
यो तेस्रो विश्वयुद्ध जित्न सरकार र प्रतिपक्ष सबैको उत्तिकै जिम्मेवारी छ । राष्ट्रिय संकटमा सबै पार्टी एक भएर विश्वलाई नयाँ उदाहरण नेपालले देखाउन सक्नुपर्छ । संकटमा देश फसे सबै फसिने भएकोले सबै पार्टीको चेत बेलैमा खुलोस् समय आउँछ पर्खिदैन । पछि सबैलाई पछुतो हुनसक्छ ।
१५)यो संकटको घडीमा सरकारले स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु, जनप्रतिनिधीहरु, स्वयम्सेवकहरुलाई सही तरिकाले परिचालन गर्दै विभिन्न संघसंस्था नागरिक समाज, एनजीओ, आइएनजिओ, सबै नेपालीहरु, विज्ञहरु, सबै राजनीतिक दलहरुको सुझाव र सल्लाह लिएर अगाडि बढ्नुपर्छ । हामी सबै नेपालीले पनि सरकारका संक्रमण सम्बन्धी कार्यक्रमलाई पालना गरेर सरकारलाई पूर्ण रुपमा सहयोग गर्नुपर्छ ।

अन्त्यमा यो तेस्रो विश्वयुद्ध जित्न सबैको तन, मन र धन तथा विचार एक बनाई दिनका लागि श्री पशुपतिनाथ भगवानले हामी सबैलाई सद्बुद्धि र शक्ति दिनुहोस् भनी प्रार्थना गर्दछु ।
(लेखक 
सिटौला कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ सनसिटीमार्ग निलगिरी नगर क्षेत्रका व्यवसायी हुन्।)