काठमाण्डौ । खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ। 

खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो। यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन्। यसका साथै एकजना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्न सक्नेछन्।

दुवै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंकको खाता खल्तीमा पहिलो पटक लिंक गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ। बैंक लिंक गर्न प्रयोगकर्ताले आफ्नो केवाईसी भने भेरिफाई गरेको हुनुपर्छ। 

एकपटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि यसमार्फत वालेट लोड नगरी केही ट्यापमै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाजस्ता बिलहरुको प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ। यस प्रकारका सेवाले समय बचतका साथ–साथै भुक्तानी सहज पनि बनाउँछ।

अफरका बारेमा ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, ‘खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले अब आफ्नो खल्ती खातामा बिना पैसा लोड सीधै बैंक खातामार्फत भुक्तानीको मज्जा लिन सक्नेछन्। यो सुविधा सबै बैंकका ग्राहकलाई उपलब्ध गराउनुका साथै थप सहज रुपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ।’

माछापुच्छ्रे बैंकको खाता ‘खल्ती’मा लिंक गर्न प्रयोगकर्ताले निम्न कुरा गर्नुपर्छ–

  • ‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘लिंक बैंक अकाउन्ट’ मा ट्याप गर्नुपर्छ। 
  • त्यहाँ ‘लिंक बैंक टु खल्ती’ मा ट्याप गर्नुपर्छ। 
  • माछापुच्छ्रे बैंक छानी बैंक खाता नम्बर हाल्नुपर्छ र सब्मिटमा ट्याप गर्नुपर्छ। 
  • जानकारी ठिक भए ‘लिंक बैंक’ मा ट्याप गर्नुपर्छ। 
  • ओटीपी (भेरिफिकेसन कोड) भर्नुपर्छ र भेरिफाइमा ट्याप गर्नुपर्छ। 

त्यसपछि प्रयोगकर्ताको ‘खल्ती’बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। यसलगायत ‘खल्ती’ मा थप १९ बढी बैंकको खाता लिंक गर्न सकिन्छ।

भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको पाँचौँ वर्षमा पुगेको छ। यसले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गरेको छ। हाल यससँग ३० हजार बढी एजेन्ट नेटवर्कका साथमा देशभर २० लाख बढी प्रयोगकर्ता छन्। खल्तीबाट प्रयोगकर्ताले आफ्नो फोन र टीभी टप–अप गर्न, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडानको टिकट किन्न, चलचित्रको टिकट बुक गर्न र अन्य धेरै कुरा गर्न सक्छन्।