काठमाण्डौ । मलेसियामा आयोजित WITSA Global Innovation & Tech Excellence Awards 2022 मा रहेको थुप्रै क्याटागोरीमध्ये खल्ती ‘डिजिटल अपर्चुनिटी÷इन्क्लुजन अवार्डद्वारा सम्मानित भएको छ। उक्त अवार्ड  WITSA -World Innovation, Technology, And Service Alliance ले  प्रदान गरेको थियो। 

यस अवार्ड कार्यक्रममा विश्वभरका ८० भन्दा बढी देश सहभागिता थियो। बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय WITSA अवार्डबाट खल्ती सम्मानित हुँदा यसले नेपाललाई पनि अन्तर्राष्ट्रिय स्थरमा चिनाएको छ। 

उक्त अवार्डमा  उपस्थित खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीलाई आजको दिन यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी तथा एजेन्ट, नियामक, खल्ती र अन्य सरोकारवालालाई धन्यवाद दिए। यसका साथै आउँदा दिनमा अन्तर्राष्ट्रिय बजार वित्तीय सेवाको प्रविधि बुझ्दै आफ्नो सेवालाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने उद्देश्य रहेको उनले जानकारी दिए। 

The World Congress On Innovation & Technology (WCIT) सन् १९७८ देखि स्थापना भएको World Innovation, Technology And Services Alliance (WITSA)  को एक महत्वपूर्ण तथा प्रतिष्ठित इभेन्ट हो। यस इभेन्टमा विश्वभरका विभिन्न प्रतिष्ठित आइटि लिडर्सहरूको सहभागिता देख्न सकिन्छ। 

यस अवार्डका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती WITSA को अवार्डद्वारा सम्मानित हुनु हाम्रो र हाम्रो देश नेपालका लागि निकै गौरभको कुरा हो। यस अवार्डले हामीलाई लक्ष्यप्रति थप गम्भीर हुन प्रोत्साहन दिँदै थप चुनौती थपिदिएको छ।’

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार बढी एजेन्ट नेटवर्कका साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ता छन्। यसमार्फत प्रयोगकर्ताले बिलहरु भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य धेरै सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरुले पनि धेरै साना तथा ठूला व्यवसायहरुलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।