-भक्तराज रसाइली
काठमाण्डौ । अंकहरुको खेल मानिने सेयर बजार सामान्य व्यक्तिका लागि जटिल विषय होला, तर यसमै भिजेर तथ्य र तथ्याङ्कलाई विश्लेषण गरी लगानी रणनीति अपनाउन सके मनग्यै आम्दानी हुने क्षेत्र पनि हो यो । रगतमै सेयरको नशा भएका जुझारु युवा सेयर लगानीकर्ता हुन् हरेराम घिमिरे । 

इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक समेत रहेका घिमिरेको पुख्र्यौली घर भने सिन्धुपाल्चोकको जुगल गाउँपालिका हो । उनी हाल सल्लाघारी भक्तपुरमा बसोबास गर्छन् । लायन्स क्लबमा समेत सक्रिय उनको सेयर बजारमा २ दशकको अनुभव रहेको छ । अध्ययनका सिलसिलामा राजधानी छिरेका उनै घिमिरे सेयर बजारले नै करोडपति बनाएको एक उदाहरणीय पात्र समेत हुन् ।

कुरा २०५५ सालतिरको हो, उनी राजधानी उच्च अध्ययनका सिलसिलामा छिरे । आफ्ना दाजु जयराम घिमिरे ब्रोकर हाउसमै कार्यरत थिए । दाजु जयरामकै ज्ञान र सल्लाह मुताविक सेयर बजारमा प्रवेश गरेका उनी आफ्ना दाजुलाई नै सेयर बजारमा छिराउने प्रेरक व्यक्ति ठान्दछन । 

उसो त घिमिरेले आफैं पनि ब्रोकरेज हाउसको लामो अनुभव सँगालेका रहेछन् । ब्रोकरेजकै काम गर्दा गर्दै उनले त्रिचन्द्र कलेजबाट एमए(समाजशास्त्र) र आरआर क्याम्पसबाट पनि बीए(राजनीतिक शास्त्र) अध्ययन पूरा गरे । हालसम्म ३ वटा बुलसमेत देखिसकेका उनै घिमिरेले २०५६ सालमा एनआइसी(हाल एनआइसी एसिया बैंक)मा १ हजार लगानीबाट सुरुवात गर्दै १० कित्ता सेयर हात पारे । दोस्रो बजारमा भने बीओकेको १ सय कित्ता सेयर प्रतिकित्ता  रु. १ सय ८० मा खरिद गर्दै पाइला चाले । 

‘सेयर बजारले डुबायो भन्छन्, तर हैन पवित्र स्थल हो, भगवानको मन्दिर हो, अनादर गर्नै मिल्दैन । भगवानले सबैको रक्षा गर्छन्।’

घिमिरेले आफ्नो पोर्टफोलियोमा भएका नराम्रा कम्पनीका सेयरलाई चिलिमे हाइड्रोपावर र एभरेष्ट बैंकमा परिवर्तन गरिदिए । अवसर र परिस्थिति हेरेर पोर्टफोलियो परिवर्तन गर्न सकेको खण्डमा  सुनौलो अवसरमा ढाल्न सकिने अनुभव सुनाए । प्रतिकित्ता रु. ५९० मा चिलिमे र रु. ६७० मा एभरेस्ट बैंकको सेयर दोस्रो बजारबाट उठाएका घिमिरेले क्रमशः ३ र ५ वर्ष होल्ड गरेपश्चात प्रतिकित्ता रु. २७ सय र रु. ३६ सयमा बेच्न सफल बनेको मीठो अनुभव सुनाए ।

दुई दशकको अनुभवका आधारमा सेयर बजारलाई कसरी हेर्नुहुन्छ भन्ने बिजशालाको जिज्ञासामा सुझबुझपूर्ण लगानी र सबै वर्ग र तप्कालाई समेट्ने क्षेत्र भएको घिमिरेको बुझाई छ । वैकल्पिक पेशा अपनाएर सेयरमा लगानी गर्नुपर्ने धारणा राख्दै उनले भने–‘थोरै पूँजी समेत लगानी र परिचालन हुने तरलताको क्षेत्र समेत हो ।’

लहैलहैमा नलागी तथ्य विश्लेषण गर्दै परिस्थितिलाई चिन्न सके सेयरको लगानीमा सफल भइने उनको तर्क छ । कुनै कम्पनीको सेयरमा लगानी गर्नुअघि तथ्य मिहिन ढंगले केलाउन आवश्यक रहेको उनले बताए । ‘मेरो अनुभवमा भन्नुपर्दा ३ वा ४ वर्ष होल्ड गर्नसक्नुपर्छ । दीर्घकालको लगानीले नै गतिलो प्रतिफल दिन्छ।’ घिमिरे भन्छन् ।

दुई दशक सेयर बजारलाई नजिकबाट नियालेका घिमिरेले नेपालको पूँजीबजार विकासक्रममा नै रहेको बताउँदै लगानीकर्ताको संख्या १५ लाख पुग्नु तथा ब्रोकर कम्पनीको विकास पनि राम्रै भएको बताए । नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीको पूर्ण कार्यान्वयन र पूँजीबजारमा रहेको हाल ल्याप्चे युगको अन्तका लागि सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने उनको धारणा छ । 

बहकाउमा गरिएको लगानी उपयुक्त नहुने जिकिर गरेका घिमिरे आफैंले विश्लेषण गरिए लगानीकर्तामा अलमल नहुने र प्रतिफलसमेत सुनिश्चित पार्न सकिने दाबी गर्छन् । कम्पनीको वृद्धि अनुपात र प्रतिफल अनुपातलाई केलाउन उनले सुझाए । आत्मविश्वासका साथ कम्पनीका तथ्यहरुलाई केलाएर लगानी निर्धारण गर्न सकेमा घाटा नै नहुने उनले ठोकुवै गरे ।

बजारको उत्तारचढाव सामान्य रहेको मत राख्दै घिमिरेले आत्तिएर सेयर बेच्नू भनेको मूर्खतापूर्ण रहेको सुनाए । क्षमताभन्दा बढी पनि सेयर लगानी घातक हुने उनी बताउँछन् । ‘घाँटी हेरी हाड निल्नुपर्छ।’उनले बिजशालासँग भने–‘अन्ततोगत्वा दीर्घकालीन लगानीकर्ताले नै बजारबाट कमाउने हो।’
सेयरबजारबाट अलग्गिन मन नलागेको बताउँदै घिमिरे भन्छन्–‘सेयर बजार नशा भयो, लत भयो । मेरो त रगत र नशामै सेयरबजार छ जस्तो लाग्छ ।’
सेयरबजारलाई पवित्र मन्दिर ठान्ने उनले यही बजारले नै घरजग्गा र छोराछोरीको शिक्षादीक्षामा सहयोग गरिरहेको बताए । ‘सेयर बजारले डुबायो भन्छन्, तर हैन पवित्र स्थल हो, भगवानको मन्दिर हो, अनादर गर्नै मिल्दैन । भगवानले सबैको रक्षा गर्छन्।’–उनले थपे ।

सिद्धार्थ बैंकको आइपीओ ७ सय कित्ता सेयर प्रतिकित्ता रु ८ सयमा बेच्दा निकै उत्साहित भएका घिमिरेले आजीवन सेयर बजारको लगानीमै रम्ने बताए । २०५९ सालताका नेपाल प्रहरीमा असई पदमा जागिर कन्फर्म हुँदा समेत सरकारी जागिरमा रुचि नदेखाएका घिमिरे दैनिक एकघण्टा निवासमा तथ्याङ्कमा घोत्लिदा रहेछन् । कुल पोर्टफोलियोमा ८० प्रतिशत दीर्घकालीन र बाँकी २० प्रतिशत अल्पकालीन लगानी गर्दै आएका उनले हाल १० देखि १५ प्रतिशत मात्र पोर्टफोलियोमा गिरावट आएको जिकिर गरे । 

ब्याजदर सन्तुलन कायम राख्नुपर्ने विचार पोखेका घिमिरेले बजारलाई स्थिर राख्न नयाँ औजारहरुको समेत विकास गर्न जरुरी रहेको औंल्याउँछन् । सेयर सचेतनामा जोड दिनुपर्ने र सरकारले समेत लगानीकर्ताहरुको मनोबल उच्च राख्न कञ्जुस्याईँ गर्न नहुुने उनको बुझाइ छ । 

नयाँ लगानीकर्ताहरुलाई बहकाउमा बजार नछिर्न आग्रह गरेका घिमिरे सेयर बजारबारे अध्ययन गरी वा तालिम लिएर मात्र प्रवेश गर्नुपर्ने सुझाव दिन्छन् । अरुले कमाएको देखेर दौडनुभन्दा सफल लगानीकर्ताहरु असफल भएको पाटोमा समेत मनन गर्न जरुरी रहेको उनको धारणा छ । सेयर बजारमा सेयरको मूल्यमा भएको गिरावटलाई सामान्य ठान्दै आफ्नो टार्गेटमा आत्मविश्वासका साथ लगानी गर्नुपर्ने घिमिरे बताउँछन् ।

‘हालको बजार निरन्तर घटिरहेको छ, तर यस्तो बजारबाट भाग्नु कायरता हो ।’ उनले भने–‘म ठोकुवाका साथ भन्छु,अहिले लगानी गर्नेले घाटा बेहोर्दैन । मेरो निजी अनुभवमा भन्दैछु ,एक वा डेढ वर्षभित्र बुल कन्फर्म आउँछ ।’