काठमाण्डौ । अर्थ मन्त्रालयले सेयर बजारमा देखिएको प्यानिक सेललाई नजिकबाट हेरिरहेको बताएको छ।

अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका एक सदस्यले बजारलाई सुनियोजित रुपमा घटाइएको र सर्वसाधारण लगानीकर्तालाई आतंकित बनाउने काम भएको भन्दै आइतबारको बजार गिरावटलाई नजिकबाट नियालिरहेको बताएका हुन्। ‘बजारका हरेक गतिविधिका विषयमा हामी अपडेट छौँ’, ती अधिकारी बिजशालासँग भने, ‘बजार यसरी घट्नुपर्ने कुनै कारण छैन। ठूला लगानीकर्ताको स्वार्थअनुसार यी सबै काम भएको देखिन्छ।’

ती अधिकारीले प्यानिक बनेको बजारमा केही न केही सकारात्मक सन्देश दिने गरी अर्थ मन्त्रालयले आवश्यक तयारी गरिरहेकोसमेत बताए। यस्तो तयारीको विषयमा उनले विस्तृतमा खुलाउन भने चाहेनन्।

राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन्। 

नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले सेयर धितो कर्जाको सीमा घटाउन निर्देशन दिइसकेको तर यो कदमलाई पनि विवादमा तान्न खोजेको ती अधिकारीले गुनासो गरे। राष्ट्र बैंक स्वायत्त निकाय भएकोले अर्थ मन्त्रालयले उसले बनाएको नीतिमा हस्ताक्षेप गर्न सक्दैन भन्ने खालको सन्देश दिन खोजियो, उनले भने, ‘लगानीकर्ताको सम्पत्ति स्वाहा भइरहँदा अर्थ मन्त्रालयले टुलुटुल हेरेर बस्दैन।’