कृष्णप्रसाद दुलाल(महासचिव)–नेपाल अटोमोवाइल डिलर्स एशोसिएसन(नाडा)

बैशाख १२ गते शनिवारको दिन भए पनि बिजिनेशको सिलसिलामा एउटा साथीलाई धुम्बाराहीमा भेटेर सीतापाइला हाउजिङस्थित मेरो घर आइपुगेको थिएँ । घरमा पाहुनाहरु आउनुभएका कारण उहाँरुहसँग बसेर कफी पिइरहेको थिएँ । अढाईतले घरमा सबैजना सँगै बसेर कफी पिइरहँदा एक्कासी घर हल्लिन थाल्यो । पहिला त सामान्य भूकम्प होला जस्तो लागेको थियो, पछि त झनै बढी हल्लाउन थाल्यो । मलाई त्यसबेला हाम्रो घर लड्छ भन्ने लागेन, म ०४५ सालको भूकम्पको समेत भुक्तभोगी भएकोले ठूलै क्षति होला भन्ने लागेन । भूकम्पले राम्रैसँग हल्लाउन थालेपछि हामी सबै टेबल समाएर बस्यौं । मलाई खास डर नलागे पनि मेरी श्रीमति र बालबच्चा बढी डराए । यो कुराले मलाई पनि बढी पिरोल्यो । 

भूकम्प आइरहँदा सोकेस एकतमासले हल्लिरहेको थियो । हल्लिरहेको सोकेस लड्न लागेको देखेर गएर समाउन मन लागेको थियो, तर घरपरिवारका मान्छेले दिएनन् । हेर्दा हेर्दै सोकेस लड्यो र सीसा झर्यामझुरुम भयो । सोकेस नै लडेपछि चाहि घरका मान्छेहरु थप आत्तिए, म पनि ठूलै पो आएछ कि क्या हो भनेर केही डराएँ । 

भूकम्पले हल्लाउन कम भएपछि हामी हतार–हतार घरबाहिरको खुल्ला र सुरक्षित स्थानतर्फ लाग्यौं । बाहिर निस्किएपछि पो थाहा भयो, हाम्रै घर अगाडि छिमेकीको एउटा तीनतले घर त गल्र्यामगुर्लुम्म ढलिसकेको रहेछ । सो घरका मानिसहरु खाना खाइरहेका रहेछन्, लडेको घरमा परिवार नै सोत्तर भएको खबरले मनमा चिसो पस्यो । सो घरका अधिकांश सदस्य घरभित्रै पुुरिए, एकदुई जनालाई मात्र नेपाली सेनाको उद्धार टोलीले जिवितै उद्धार गरेको थियो । छिमेकमा रहेको घर लडे पनि हाम्रो घरमा चाहि सामान्य क्षति पनि पुगेको थिएन । तर हाउजिङ क्षेत्रकै केही घरहरु ढलेका थिए, केही मानिस समेत मरेका थिए । त्यसबेला हाउजिङ क्षेत्रका घरहरु ढलेका कारण धूलो मात्र उडेको देखिएको थियो, यस्तो दृश्य देख्दा काठमाण्डौमा निकै ठूलो क्षति भयो होला भन्ने मलाई लागेको थियो । 

आफ्नी पत्नीको भूकम्प डरको बिषयमा कविता लेखेर दुलालले राखेको फेसबुक पोष्ट । 

भूकम्प लगत्तै म काठमाण्डौमा के भएको रहेछ भनेर घुम्न निस्किएँ, त्यसबेलाका केही अत्यासलाग्दा दृश्यहरुले मेरो मन अत्तालिएको थियो, रोएको थियो । स्कूटर लिएर काठमाण्डौ घुम्न निस्कँदा अवस्था निकै त्रासपूर्ण थियो । सीतापाइलामा लडेका घरका भग्नावशेषहरुबाट लाशहरु निकाल्ने काम भइरहेको थियो । कतिपय ठाउँमा लाश निकाल्ने मान्छे नभएर मानिसहरु ढलेका घरहरुमा चेपिएका हृदयविदारक दृश्य समेत देखेँ । ग्राण्डी अस्पताल पुगेँ, घाइतेहरुको बिजोग अवस्था देखेँ । समाचार सुन्दा र दृश्यहरु हेर्दा काठमाण्डौ सखाप नै भएछ कि क्या हो जस्तो लागेको थियो । तर मैले जति सोचेको थिएँ, त्यो भन्दा निकै नै कम क्षति भयो भन्ने लाग्छ । त्यत्रो ठूलो भूकम्प आउँदा समेत धेरै घरहरु लडेनन् । काठमाण्डौ धूलोपीठो भयो होला भन्ने लागेको थियो, धन्न भगवानले सबैलाई बचाइदिए, हात थापिदिए । मलाई त पुराना भवनमध्ये ९९ प्रतिशत ढले होलान् भन्ने लागेको थियो, धन्न धेरै पुराना घरहरु पनि जोगिएछन् । 

२ दिनसम्म जेनतेन सुरक्षित स्थानमा बसियो । तर पराकम्पनले हल्लाउन नछाडेपछि मेरी श्रीमति बढी डराइन् । उनीहरुको डर भगाउनैका लागि पनि काठमाण्डौ छाडेर बाहिर कतै जानुपर्छ कि भन्ने लाग्यो । हामीले सल्लाह गरेर भूकम्पले खास धेरै नहल्लाएको पोखरा जाने  निधो गर्यौं । परिवारलाई लिएर पोखरा पुगेँ । श्रीमति र बालबच्चाको मनमा शान्ति मिल्ला भनेरै हामी पोखरा गयौं । त्यहाँ काठमाण्डौमा जस्तो पराकम्पनहरु आइरहेको थिएन, तर पोखराका अधिकांश होटल तथा लजहरु सुनसान थिए, पाहुनाविहीन थिए । हामी मात्र पाहुना भएर पुगेका रहेछौ । एक्लै गेष्टको रुपमा बस्न हामीलाई नमज्जा लाग्यो । त्यसपछि सौराहा जाने निधो गर्यौं । पोखराबाट हामी सोझै सौराहातर्फ हानियौं । त्यहाँ पनि पराकम्पनहरु धेरै आएको थिएन, तर अवस्था पोखराको जस्तै थियो । होटल तथा लजहरु सुनसान थिए, हामी मात्र गेष्टको रुपमा बस्दा त्यहाँ पनि मज्जा भएन । २ रात सौराहा बसेर फेरि परिवारसहित हामी काठमाण्डौ फर्कियौं । त्यसबेलासम्म पनि काठमाण्डौलाई हल्लाउन छाडेको थिएन । तर घरमा त्यत्रो ठूलो भूकम्प आउँदा त सामान्य चिरा समेत नपरेपछि ढल्ला भन्ने लागेन र घरभित्रै बस्न थाल्यौं । 

भूकम्पले एकहोरो हल्लाइरहँदा र काठमाण्डौको कहालीलाग्दो अवस्था देख्दा मलाई प्रकृतिको शक्ति अगाडि मानिसको केही नलाग्ने रहेछ भन्ने अनुभूत भयो । अदृश्य शक्ति ठूलै हुँदो रहेछ, जसले सबैलाई बराबरी ठाउँमा ल्याउने ल्याकत राख्दो रहेछ । अग्लोहोचो, धनीगरीब सबैलाई एकैठाउँमा ल्याइदियो यो विपतले । हामी सामान्य पात्र न रहेछौ, यो संसारलाई संचालन गर्ने शक्ति हामीसँग रहेनछ, हाम्रो हातमा केही पनि रहेनछ । 

भूकम्पको क्षति र सन्देश
भूकम्पका कारण धेरैले ठूला–ठूला क्षति व्यहोर्नुपर्यो, हामी पनि अछूतो रहेनौ । हाम्रो कम्पनीको कर्पोरेट कार्यालय रहेको भवन भत्किएपछि सिफ्ट हुनपर्यो । गाडीहरु चलेनन्, बिजिनेश समेत चौपट भयो । भूकम्पकै कारण हामीले ५० लाखभन्दा बढीको क्षति व्यहोर्नुपर्यो । 

दूलालले आफ्नै निवासमा भूकम्प नआओस् भनेर स्वती शान्ति पूजा लगाउँदै । 

हामीले जस्तै अन्य अटोमोवाइल व्यवसायीहरुले पनि क्षति व्यहोरे । हरेक क्षेत्रमा असर पर्दा अटोमोवाइलको बिजिनेश समेत चौपट भयो । कतिपयको त टाट नै पल्टियो भूकम्पका कारण । 

यो महाभूकम्पबाट सामान्य व्यक्ति मात्र होइन, सरकार र अन्य जिम्मेवार निकाय तथा तिनका अधिकारीहरुले समेत पाठ सिक्नुपर्छ । गतिलो, भरपर्दो र गुणस्तरीय घर, भवन तथा पूर्वाधार बनाउनुपर्छ भन्ने सन्देश भूकम्पले दिएको छ । आन्तरिक उत्पादनको विकासमा जोड दिनुपर्ने रहेछ, हाम्रै वरपर उपलब्ध हुनसक्ने चिज तथा वस्तुहरुको विकासमा समेत ध्यान पुर्याउनुपर्ने रहेछ । हामी सामान्य आधारभूत वस्तुहरुमा समते परनिर्भर हुँदा भूकम्प र यस्ता विपतको बेलामा कतिसम्म समस्या हुँदो रहेछ भन्ने कुरा पनि महाभूकम्पले सिकाएको छ । कम्तीमा यस्ता प्राकृतिक विपत्तिबाट हुने क्षति न्यून गराउनका लागि समेत गतिलो पूर्वतयारी हुनुपर्ने रहेछ । सामान्य नागरिकदेखि राज्यले समेत पूर्वतयारीमा विशेष सचेतना अपनाए भूकम्प वा यस्ता विपत्तिबाट हुने क्षति कम गराउन सकिने रहेछ भन्ने कुरा पनि महसुस भएको छ ।