काठमाण्डौ । विगतमा खराब र कमजोर बैंकको रुपमा परिचित नेपाल बैंक लिमीटेडको प्रगति यात्राले अझ गति लिएको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा मात्रै २ अर्ब ५१ करोड खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो बैंकको खूद नाफा १ अर्ब ६४ करोडमा सीमित थियो । 

व्यवसाय बिस्तार, खराब कर्जाको असूली र बित्तीय अनुशासनमा आफूलाई तीव्र गतिमा सुधार गरेको यो बैंकले ९ महिनाको अवधिमा खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ९० करोड ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढाएर ४ अर्ब ७ करोड बनाएको छ ।

यस्तै, बैंकले यो अवधिमा ८ अर्ब ३९ अर्ब निक्षेप संकलन गरी ७ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५ खर्ब ९८ अर्ब निक्षेप संकलन गरी ५ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेको थियो । 

बैंकले समग्रमा राम्रो प्रगति गरे पनि कर्मचारी र संचालन खर्च भने बढेको छ । 
अघिल्लो वर्ष १ अर्ब ५२ करोड रहेको कर्मचारी खर्च बढेर १ अर्ब ८६ करोड पुुगेको छ भने संचालन खर्च पनि ४२ करोडबाट ४८ करोडको उचाईमा पुुगेको छ । 

बैंकले अघिल्लो वर्ष १ अर्ब २२ करोडमा सीमित संचालन मुनाफा बढाएर २ अर्ब २० करोडको उचाईमा पुर्याएको छ । अघिल्लो वर्षसम्म ९४ करोड ऋणात्मक रहेको जगेडा कोष बढेर यो वर्ष २ अर्ब ७६ करोड धनात्मक भएको छ । 

३.६७ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात घटेर २.८५ प्रतिशतमा झरेको छ भने ९ करोड ५५ लाखमा सीमित पूँजीकोष वृद्धि भई १३ अर्ब ५२ करोडको उचाईमा पुुगेको छ । बैंकको प्रति सेयर आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको ९ महिनाको अवधिमा ३३ रुपैयाँ ८८ पैसा रहेको प्रति सेयर आम्दानी बढेर यो वर्ष ४४.९७ रुपैयाँ कायम भएको छ । 

यो बैंकको कस्ट अफ फण्ड १.९१ प्रतिशत मात्र छ, जुन निकै राम्रो पक्ष हो । वाणिज्य बैंकहरुमध्ये एकदुुईको मात्र कस्ट अफ फण्ड १.९१ प्रतिशत र हाराहारीमा छ । 

यो बैंकमा ६२ प्रतिशत स्वामित्व सरकारको छ । हाल यसको चुक्तापुँजी ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।