काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अबको २ महिनाभित्रमा लगानीकर्ताको हातमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली पुर्याइसक्ने उद्घोष गर्दै १५ दिन भित्र मोक कारोबारको व्यवस्था मिलाइने बताएका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सीइओ साउदले यस्तो जानकारी गराएका हुन् । 

‘अब ढिलोमा पनि २ महिनाभित्रमा अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन भइसक्नेछ ।’ उनले भने–‘तपाई लगानीकर्ताहरुले १५ दिनभित्र मोक कारोबारको सुविधा पाइसक्नुहुनेछ ।’

हाल अनलाइन कारोबार प्रणालीको परीक्षण भइरहेको र लगानीकर्ताका लागि आवश्यक अप्सनहरु थपिइँदै गएको उल्लेख गर्दै साउदले दोश्रो बजारलाई समेत प्राथमिक बजार सोसरह विकास गर्न आफूहरु कटिबद्ध रहेको बताए । 

उनले लगानीकर्ताले साउन १ गतेदेखि परीक्षणमा आएको प्रणाली खोजेजस्तै नभएको स्वीकार गर्दै परिमार्जन भइरहेको समेत जानकारी दिए । 

उनले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमार्फत विदेशमा बस्ने नेपालीहरुलाई पनि सुरुवातदेखि नै कारोबार गर्नसक्ने व्यवस्था मिलाइने आश्वासन दिए ।