काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिकस्थलहरु र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यसभेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने बताएका छन्। 

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्स्पो २०७९ को समापन समारोहमा मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबका रुपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने धारणा राखे। पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतिका रुपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनुपर्नेमा ध्यानाकर्षण गराउँदै मन्त्री किराँतीले नेपाली स्रोत–साधनलाई सामूहिक रुपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिए। 

पूर्वमन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे। उनले उहाँले उद्योगी–व्यवसायीलाई स्थानीय उत्पादनको ब्रान्डिङमा समेत जोड दिए। 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकीकृत अवधारणा आवश्यक रहेको बताए। उनले पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवर्द्धन गर्नुपर्ने पूर्वको समग्र पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिए। उनले हिल स्टेसनको अवधारणाअनुरुप पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थ्रुप्रै पर्यटक नेपाल ल्याउन सकिनेसमेत बताए। 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमुखी व्यापार र व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको बताए। 

विगतदेखि नै पर्यटन बोर्डले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा जोड दिएको उल्लेख गर्दै पर्यटन बोर्डका सदस्य कृष्ण शाहले यो एक्सपोले धरान र यसवरपरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए। 

फागुन ११ गतेदेखि सुरु भएको एक्पोमा पर्यटनसंग सम्बनिधत १५ सहित विभिन्न १३० वटा स्टरल रहेको सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।