काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरमा ल्याउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा चलिरहेको प्रश्नोत्तरका क्रममा सांसद शेरबहादुर कुँवरले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा भएको ठगीधन्दामा भीभीआईपीहरु नै यो प्रकरणमा संलग्न भएको पाइए के गर्नुहुन्छ ? भन्ने प्रश्न प्रधानमन्त्री दाहाललाई गरेको थिए। कुँवरलाई जबाफ दिँदै दाहालले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘यो विषय अहिलेको चर्चामा रहेको र संवदेनशील विषय हो’, उनले भने, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन। बाँकी राख्ने पनि छैन।’

नेपाल प्रहरीको अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप नभएको प्रधानमन्त्री दाहालले बताए। ‘हस्तक्षेप हुन दिइने छैन’, उनले भने, ‘दोषी कोही पनि उम्कन नपाओस् भन्ने हाम्रो जोड छ।’

यो प्रकरणमा भीआईपी र भीभीआईपी पनि परिरहेको र त्यसमा स्वतन्त्र छानबिन भइरहेको दाहालले बताए। ‘अपराधीलाई कानुनी दायरामा ल्याइनेछ’, उनले भने, ‘प्रहरीले पनि निष्पक्ष र स्वतन्त्र छानबिन अघि बढाइरहेको छ। उचित निष्कर्षसहित दोषीलाई कारबाहीको दायरामा ल्याएर सुशासन थालनी गरिनेछ।’