काठमाण्डौ । बहुप्रतिक्षित पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको सुरुवात तोकिएकै समयमा हुने भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन प्रणाली निर्माणको काम द्रूत गतिमा भइरहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै त्यसको लञ्च हुने प्रष्ट पारेका हुन् ।

बिजशालासँग कुरा गर्दै नेप्सेका सीइओ साउदले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली निर्माणको ८० प्रतिशत काम सकिइसकेको दाबी गरे । ‘म केही दिनअघि अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको संस्थामा निरीक्षणका लागि गएको थिएँ ।’ उनले भने–‘सो क्रममा ८० प्रतिशत काम सकिसकेको उहाँहरुले बताउनुुभएको छ । अलिक ठूलो काम बाँकी भनेको ब्रोकरको ब्याकअप बनाउन मात्र रहेछ ।’ 

उनले अनलाइन प्रणालीमा आन्तरिक रुपमा राख्नुुपर्ने कुराहरु बिस्तारै राखिने र पहिलो चरणमा बाहिरबाट कारोबारसम्म गर्न मिल्ने प्रणालीको विकास भइरहेको समेत खुलाए । ‘अहिले बजारलाई जे आवश्यक छ त्यो चाहि समयमै दिने भन्ने कुरा छ, निर्माणकर्ताहरु समेत लागिरहनुुभएको छ ।’ साउदले भने–‘त्यसपछि हामीलाई आन्तरिक रुपमा आवश्यक चिजहरु अनलाइन प्रणालीमा बिस्तारै अपडेट हुँदै जान्छ ।’ 

‘हामी नयाँ आर्थिक वर्षको सुरुवातदेखि जसरी पनि अनलाइन प्रणाली लञ्च गर्ने तयारीमा लागेका छौ ।’ साउदले भने–‘परीक्षण गर्दा केही त्रुटि भई समयमा एकदुुई दिन ढिलो या छिटो हुनुु सामान्य कुरा हो । तर, नयाँ आर्थिक वर्षको सुरुवातमै अनलाइन कारोबार प्रणाली आइसक्छ ।’ 

उनले अनलाइन कारोबार प्रणालीको टेक्निकल अडिट सकिइसकेको र अर्थमन्त्रालयले समेत हेरिसकेको उल्लेख गर्दै कुनै अन्तर्राष्ट्रिय विज्ञ संस्थाहरुलाई कोटेशन आह्वानमार्फत नेपाल बोलाएर बनेको प्रणालीको सिस्टम हेर्न लगाउने योजना रहेको सुनाए । ‘त्यस्ता विज्ञ संस्थाहरुका लागि हामी अर्को साताभित्र कोटेशन आह्वान गर्नेछौ ।’ उनले भने–‘आइएसओ प्राप्त त्यस्ता संस्थाका विज्ञ आएर हामीले बनाएको प्रणालीको अडिट गर्नेछन् ।’ 

उनीहरुले नेपाल अनुकुलको प्रणाली बन्यो या बनेन, नेपालको क्षमता अनुसार भयो या भएन, भोलि कुनै नियम तथा व्यवस्था परिवर्तन गर्दा यो सिस्टममा सहजै परिवर्तन गर्न सकिन्छ या सकिन्न भन्ने बिषय समेत हेर्नेछन् । नेपालमा यस्तो काम गर्ने विज्ञ नभएका कारण विदेशी नै ल्याउनुुपर्ने बाध्यता छ ।