– अनन्त्य सुन्दर

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७४ स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार सूचना प्रकाशित गर्दै लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको छ। 

सेबोनले नयाँ स्टक एक्सचेन्ज लागि ४५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। सेबोनले नयाँ स्टक एक्सचेन्जका लागि आवश्यक प्रक्रिया अघि बढाएसँगै अहिले सञ्चालनमा रहेको अर्बौंको सम्पत्ति भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अवस्था के होला ? भन्ने सरोकारवालाको जिज्ञासा रहेको छ। 

नेप्सेका एक उच्च अधिकारीले निजी क्षेत्रको लगानीमा स्टक एक्सचेन्ज आएको केही वर्षमै नेप्सेलाई कौडीको भाउमा बेच्नुपर्ने अवस्था सिर्जना हुने बताए। ‘सेबोनले लाइसेन्सका लागि आवेदन माग्ने केही दिनअघिमात्र स्वार्थ पूर्णहिसाबले नियमावली नै संशोधन गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ। संशोधित नियमावलीमा एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब हुनुपर्नेका साथै सञ्चालन भएको दुई वर्षभित्र ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने भनिएको छ’, ती कर्मचारी भन्छन्, ‘तर, विडम्बना संशोधित नियमावलीमा उक्त व्यवस्थाहरु अहिले सञ्चालनमा भएको एक्सचेन्जलाई भने लागू नहुने भनिएको छ।’

‘एउटै प्रकृतिका संस्थालाई फरक–फरक व्यवस्था कतै हुन्छ ?’, प्रश्न गर्दै ती अधिकारीले भने, ‘नेप्सेले आईपीओ निष्कासनका लागि गुहारेको वर्षौं भइसक्यो तर सरकार र सेबोन कसैको पनि चासोको विषय बनेन।’ नियमावलीमा भएका व्यवस्थाहरु अध्ययन गर्दा सेबोन अध्यक्ष रमेशकुमार हमालको नेतृत्वमा स्वार्थ समूहहरुको हातमा राज्यको अर्बौंको सम्पत्ति भएको स्टक एक्सचेन्ज (नेप्से) सुम्पिने प्रपञ्च रचिएको ती अधिकारीको दाबी छ। ‘नेप्सेसँग भएको अधिकार खोसेर सेबोनमा लगेर नेप्सेलाई अहिले थप कमजोर बनाइँदैछ। सेबोनका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले नेप्सेको ब्रोकर शाखाको अनुमति दिन पाउने अधिकार पनि खोसेर सेबोनमा लगेका थिए’, ती कर्मचारी भन्छन्, ‘अहिलेका अध्यक्ष रमेशकुमार हमालले नेप्सेको मातहतमा रहेको नयाँ ब्रोकर लाइसेन्ससम्बन्धी अध्ययनदेखि लाइसेन्सका लागि आह्वानसम्मको सम्पूर्ण अधिकार पनि सेबोनले नै लगेसँगै अहिले नेप्से थप कमजोर भएको छ।’

विगतका दिनमा ब्रोकरको लाइसेन्सका लागि नेप्सेले नै आह्वान गर्ने गरेको थियो। ‘तर, सेबोनले हिजो एउटा सूचना जारी गर्दै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ’, ती अधिकारीले भने।

सेबोनबाट जारी उक्त सूचनाअनुसार ब्रोकर लाइसेन्सका लागि ३० दिनभित्र आवेदन दिन आह्वान गरिएको छ।