काठमाण्डौ । ‘नाइटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छन्।
नेपालको नर्सिङ पेसामा गरेको योगदानको मूल्यांकन गर्दै जोशीलाई हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा उक्त अवार्डबाट सम्मानित गरेका हुन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेसनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरे।
अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन्। उनी विगत २९ वर्षदेखि नर्सिङ पेसामा कार्यरत छिन्। १० जना मनोनित नर्समध्ये उनलाई अवार्ड प्रदान गरिएको थियो।
फ्लोरेन्स नाइटिङ्गेलको नामबाट अन्तर्राष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ।
कार्यक्रममा सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बिरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मानप्रति खुसी व्यक्त गरिन्। उनले आगामी दिनमा पनि यस किसिमका प्रोत्साहनमूलक अवार्ड र सम्मान कार्यक्रम जारी राख्न आग्रह गरिन्।
कार्यक्रममा हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले नर्सहरुको सम्मानमा सञ्चालन गरिएकोे अवार्ड कार्यक्रमले धेरै नर्सहरुलाई आफ्नो पेसामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे।
हेल्थ एट होमले घर–घरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवासमेत प्रदान गर्दै आएको छ।
हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ। हाल हेल्थ एट होममार्फत करिब १ लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्।
देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago